×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फोहोर फाल्न सकस: हिजो फोहोर नखसालेर फर्किएका गाडी आज जानै सकेनन्

फोहोर फाल्न सकस: हिजो फोहोर नखसालेर फर्किएका गाडी आज जानै सकेनन्

काठमाडौं- स्थानीयको निरन्तरको अवरोधका कारण काठमाडौंको फोहोर आज पनि बञ्चरेडाँडा ल्याण्डफिल साइट पठाउन सकिएको छैन। सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी आज नपठाएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए।

उनले गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै पठाउने छलफल भइरहेको जानकारी दिए। स्थानीएको अवरोधका कारण प्रहरीहरू नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौं आएका थिए।

हिजोको झडपमा चारजना प्रहरी र केही स्थानीयवासी पनि घाइते भएका थिए। प्रहरीले पनि सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको थियो। फोहोर फाल्न नपाएपछि काठमाडौंमा फोहोर उठ्न बन्द भएको छ। शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरूबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो। तर स्थानीयले फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै अवरोध जारी राखेका छन्।

सहमतिमा धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको थियो।

महानगरले असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता गरेको थियो। त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएृका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको थियो। वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको थियो।

केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेकाले अवरोध गरिएको स्थानीयबासीले बताएका छन्। यो सहमति हुँदा बञ्चरेडाँडा क्षेत्रका वासिन्दा र संघर्ष समितिलाई सहभागी गराइएको थिएन। फोहोर नउठेपछि काठमाडौंमा दुर्गन्ध फैलिएको छ।

प्रतिकृया दिनुहोस्