×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नयाँ सांसदहरू, नयाँ गफाडीहरू : मेयर बालेन शाह

नयाँ सांसदहरू, नयाँ गफाडीहरू : मेयर बालेन शाह

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडीहरू’ भनेका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन् :

नयाँ सांसदहरू,

नयाँ गफाडीहरू !

उही पुरानो देश ।

उही पुराना व्यापारीहरू ।

मेयर बालेन शाहले कवितात्मक शैलीमा लेखेको आफ्नो यो स्टाटसमा कुनै प्रसंग भने खुलाएका छैनन् ।

गत मंसिर ४ गतेको चुनावबाट निर्वाचित नयाँ सांसदहरूले बिहीबार मात्रै शपथ लिए । यसपालिको निर्वाचनमा नयाँ राजनीतिक दल र स्वतन्त्र उठेका नयाँ उम्मेदवारहरूले जितेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन नयाँ दलको उदय भएको छ । त्यस्तै पाँच जना स्वतन्त्र उम्मेदवार पनि सांसद बने ।

मेयर बालेन शाह आफैं पनि स्वतन्त्र उम्मेदवार हुन् ।

स्थानीय निर्वाचनमा उनीसँगै धरान, धनगढी र अन्य केही पालिकामा पनि स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए । स्थानीय चुनावको यो लहर संसदीय चुनावमा पनि कायमै रह्यो र संसदमा नयाँ अनुहारहरू देखिएका छन् ।

काठमाडौं महानगरले पनि यसपालि ६ जना नयाँ सांसद चुनेको छ । नयाँ सांसदहरूले शपथ लिएको दुई दिनपछि बालेनले टिप्पणी गरेका हुन् ।

‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोशिसको सम्मान छ । निर्वाचितहरूलाई बधाइ र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ,’ उनले भनेका थिए ।

प्रतिकृया दिनुहोस्