धनगढी: सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता भएको छ ।
नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले आफूमाथि हातपात गरेको आरोपमा सोडारीविद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेका हुन् ।
मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सो विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
प्रदेश सचिव रावलले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउन गएका बेला सोडारीले आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
मन्त्रीको सचिवालयले उक्त आरोपको यसअघि नै विज्ञप्ति निकालेर खण्डन गरेको छ । सचिवालयले रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको विज्ञप्तिमार्फत जनाएको थियो । मन्त्री सोडारी नेकपा एमाले (माधव पक्ष) नेता हुने भने रावल (ओली पक्ष) हुन् ।