×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुजन चापागाईंको 'फूल'

सुजन चापागाईंको 'फूल'

प्रिय,  सुजन चापागाईं ।

यो कुनै संगीत समिक्षा हैन कारण म त्यसको अयोग्य छु । यो एउटा पत्र हो , एउटा प्रशंसकको । जो तपाइको स्वर , सुर , रागमा अनुराग राख्छ र तपाइको गीतको बारेमा वार्तलाप गर्न पाउँदा प्रशन्न हुन्छ ।

तपाइसँग एउटा आग्रह छ । 

म अहिले गीत श्रवण गर्दै लेख्दै छु, तपाईंले मेरो एकालाप सुनिदिनु होला ।

लेखक उवाच - 

तपाईको अरू गीतहरू पनि श्रेष्ठ छन् तर फूल ( उनको स्वेटर ) को उचाइ वेग्लै छ , गहिराई वेग्लै । यदि यस साङ्गीतिक सृजनाको कुनै अनुहार हुन्थ्यो भने यसका आभामण्डल यति चम्किला हुन्थे कि त्यसको प्रंशसार्थ कुनै शब्द सान्दर्भिक ठहरिदैन थिए होला ।

" फूलहरु मुस्काउँछन , तिमीले देख्यौ र ।
पुतली ले गीत गाउँछन् ,  तिमीले सुन्छौ र । "

जसले आफूलाई प्रेममा डुवेकोमा गर्व गर्छन् , शायद तिनीहरुलाई यो महान् प्रश्न हो गीतकार हर्क साउदकाे। 

ओ संसारका सम्पूर्ण प्रेमीहरू जो आफू प्रेममा परेकोमा गौरव मान्छौ , फूल सर्वाङ्ग मुस्कुराएको हेर्न फुर्सद छ कि छैन ?

कोलाहल नै कोलाहलमा बानी परेका प्रेमीहरू , के तिमीहरुको श्रवणमा यति संवेदना छ र तिनीहरु पुतलीले गाएका गीतहरु सुन्न सक्छौ ?

ओ तथाकथित प्रेमीहरु ! प्रेममा हुनु र सम्बन्धमा हुनु भिन्न भिन्न कुरा हो । जव सुजन चपागाइको यस गीतको गुढार्थ थाहा पाउँछौ तव प्रेमको वास्तविक धरातलमा उत्रन पुग्छौ ।

" लेकैमा कुहिरो पर्खिरहेछ , सिमसिम पानी विर्सिरहेछ । "

लु छिटो छिटो जाउँ है , लेकमा पर्खिरहेको कुहिरोलाई समात्न जानुपर्ने छ । 
सिमसिम बर्सिरहेको घामपानीमा रुझ्न - न्यानो हुन जाउ न। एकछिन मानिसहरूलाई हाम्रो प्रेम देखाउनु छाडेर सिमसिम बर्सिरहेको घामपानीमा रुझ्न - न्यानो हुन जाउ न। 

गीत भरि नै ' फूलहरु मुस्काउँछन , तिमीले देख्छौ र ..पुतलीले गीत गाउँछन् ,  तिमीले सुन्छौ र । ' कोरस दोहोरीराख्छ। यस्तो प्रतीत हुन्छ, सांसारिकताको भ्रममा चुर्लुम्म डुबिरहेका जोडीहरूलाई सुजन चापागाईं यसरी आग्रह गरिरहेका छन् कि - "  एक चोटि त हेरिदेऊ फूल मुस्कुराउँदै छन्, पुतलीले गीत गाइरहेका छन्.. यो जीवनकाे महान् अनुष्ठान घटित भइरहेछ... त्यो प्रेमको वास्तविकता हो... कुन दौडधुपमा हिंडिरहेको त्यो पनि गलत बाटोमा... एकचोटि अडिएर मेरो लेककाे भुइँकुहिरो समात्न त आउ, यहाँको घामपानीमा निथ्रुक्क त होऊ... अनि तिम्रो तिमी गायव हुनेछ... केवल शेष रहनेछ निर्बाध निर्विकल्प माया। " 

" जुन हेर्नु तिमी माथि माथि सगरको
म हेर्छु मेरो जुन तिम्रो नजर। " 

क्या बात। यो गीतांश सुन्दा दीप श्रेष्ठको ' मेरो सपनाको सदनमा ' गीतको टुक्राहरू दिमागमा आइरहे - ' तिमी पहाड हेरी रमाउ म तिमी हेरी रमाउँछु। '

एउटा यस्तो प्रेमी छ । प्रेमी मात्र के भन्नू दिवाना छ, जो सगरको जुन आफ्नी प्रेमिकाको सागर आँटेको गागर जस्तोे आँखामा हेरेर तृप्त हुन्छ। 
हजुर ! हाम्रो एउटा दिवाना छ, जो प्रेमको लागि चिनारेखा मेटाउन पनि हिम्मत राख्छ। हुन पनि हो, प्रेम भनेको स्वतन्त्र पंक्षि हो जो अविभाजित आकाशमा उड्छ, उ चिनारेखाका पिँजडामा कहाँ कैद हुन्छ र। बास्तविक कैदखाना भनेकाे त यहीँ हामी उभिबस्ने जमिन हो।  माफ गर्नुहाेला म आफ्नो अभिव्यक्ति सच्चाउन चाहन्छु, जमीन पनि कहाँ कैदखाना हो र !  जबसम्म हाम्रो प्रेम अनुभव नगर्ने हृदय बोकेर असमाप्य तिर्खाका साथ हिडीरहन्छौ, हाम्रा हातखुट्टाका जन्जिरहरु कहाँ फुस्किन्छन् र।

“तिमीबिना तिमी हुनु
नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर
रुझाईरहनु नबर्सेर। "

यो काव्य हर्क साउदको वास्तविक उचाई हो अनि सुजन चापागाईंको अभिव्यक्तिकाे उच्च परीक्षा। यी काव्यको अनन्त गहिराइमा हराउने हो भने सत्य प्रेमको परिभाषा भेटिन्छ। ' नछोएर छोइरहनु , नपखेर भेट्नु , नवर्सेर रुझाइरहनु.... झट्ट सुन्दा प्राकृतिक वास्तविकताको विपर्यासको कुरा गरिरहे झैं लाग्छ। 

तर यि हामीले सम्झिआएका वास्तविकता भन्दा पर एउटा पृथक् संसार छ। जहाँ संसार र असंसारको भिन्नता मेटिन्छन, हुनु र नहुनुको द्वैधता हराउन थाल्छन्। एउटा परम स्वतन्त्रता जो असिम मायाको गहनताले पथप्रदर्शित हुन्छ। जहाँ परिचयका अभिनय खरानी बन्छ, केवल नवीनताले भिजाइरहन्छ हृदय। 

मान गए, सुजन चापागाइ । शास्त्रीय र लोकलयको अद्भुत सङ्गमयुक्त स्वरले माथि उल्लिखित पृथक् संसारमा बारबार डुलाइरह्यो , पगपगको हिडाइ यस्तो लाग्यो कि म सहस्रदल कमलमाथि हिडिरहेको छु । लाग्यो मेरो अन्धकार निवासमा आँखीझ्याल निर्माण गरिएको छ जहाँवाट कलिलो घाम आफ्नो पाइला राख्ने छ।

कति मृदुल संगीत । वाद्यवादन , हर्क साउद र सुजन चापागाइ विचमा के भिन्नता छ र ? केही छैन - एकाकार भएका छन् ।

सेलो , भायोला र बाँसुरी भरिएका आवाजले कता कता टाढा पहाडको लेकमा पुर्याएझैं लाग्यो। हुस्सु कुहिरोकोका व्यापक संसारमा हराएझैं लाग्यो। सेता बुकिफुलका थुङ्गा चुड्दै कानमा सिउदिँदै चप्पल बजाएर मदमस्त हुँदै हिडेको झै लाग्यो । निर्जन हुन लागेर एक्लिएका लेकहरुको नियास्रो लागेर आयो ।

प्रणय दिवसको उच्चतम सेलिब्रेसन , सरस्वती वास गरेको गला र हातले प्रणय दिवसमा यति मिठो सौगात दिएका रहेछन्

अन्त्यमा मेरो निष्कर्ष : असल प्रेमी हुनुकाे दुईवटा उपाय छन् - सुजन चापागाईं हुनु र सुजन चापागाईको ' फूल ' सुन्नु। 

प्रिय सज्जन सुजन चापागाई ! डिस्टर्व गरेकोमा माफ पाउँ । अब भने एकलाप वन्द गर्छु ।

ल है त सर्जक , श्रोता ,दर्शक सबैलाई उपहारस्वरूप बुकी फूल ।

प्रतिकृया दिनुहोस्