×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजनीतिको खेती गर्नेलाई लखेटौँ : विक्रम पाण्डे

राजनीतिको खेती गर्नेलाई लखेटौँ : विक्रम पाण्डे

भरतपुर- पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले माडी मणीका रुपमा विकास हुन नसकेपछि फेरी चुनावी मैदानमा आएको बताउनुभएको छ । माडी–२ चिरौलीमा चुनावी प्रचारप्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै विकासको पर्खाइमा माडीले अब कुर्न नहुने बताउनुभयो ।

“माडी मणी बनेपछि, आकाशे पुल, सुरुङ माग बनाउँछु भनेका थिए, ती बनेपछि आउँला भन्दै पर्खिएँ, तर कुर्दा कुर्दै थाकियो”, उहाँले भन्नुभयो, “राष्ट्रिय लेभलको नेताले जितेपनि ५ वर्ष खेर गयो, अब माडी पछि पर्नुहुदैन ।”

पाण्डे चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँले माडी नगरपालिकालाई देशकै विकसित नगरका रुपमा विकास गर्ने भिजन लिएर आएको बताउनुभयो । “योजना होइन, आयोजना ल्याउनेछु, माडीलाई सुन्दर र विकसित बनाउनेछौँ”, उहाँले भन्नुभयो, “अर्गानिक खेती विस्तार गर्नेछौँ, विदेशदेखि किसानहरु अवलोकन र्ग आउने क्षेत्रका रुपमा बनाउने कार्यक्रमहरु लागु गर्नेछु ।” उहाँले जनप्रतिनिधि पार्टी नभई जनताप्रति वफादर बन्नुपर्नेमा जोड दिनुभयो । “पहिलेका सांसदलाई जनताले देख्न पाएनन्, औला उठाउन पनि पाएनन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय लेभलको मान्छे माडीले पाएपनि विकास पाएन, अब त्यो गल्ती माडीबासीले दोहो¥याउने छैनन् ।”

राजनीतिको खेती गर्नेहरुले जनतालाई पटक पटक दुख दिदै आएकाले यसपालीको चुनावमा लखेट्नुपर्ने धारणा राख्नुभयो । उहाँले सदनमा राष्ट्रवादीहरु नपुगे देशकै विक्रि गर्ने जोखिम हुने भएकाले यसपाली राष्ट्रवादीलाई  चुनावमा जिताउन लाग्नुपर्ने बताउनुभयो । उहाँले २०७० मा आँफु संविधानसभा सदस्यहुदा पारेको बजेटकै आधारमा बनेका पुलहरुको उद्घाटन गरेर विकास ल्याएँ भनेर प्रचार गर्दै निर्वाचन क्षेत्रनै छाडेर भागेको व्यंग्य गर्नुभयो । 
उहाँले मोटरसाइकलमा नभई पैदलबाटै जनताको घरदैलोमा पुग्न आग्रह गर्नुभएको छ ।

“हरेक जनताका समस्याहरु टिपोट गर्नुस्, रेकर्ड राख्नुस्”, उहाँले भन्नुभयो, “चुनाव जितेपछि जनताका हरेक समस्याहरु समाधान गर्न लागिपर्नेछौँ ।” राप्रपाका सहमहामन्त्री एवम् निर्वतमान प्रदेश सांसद रिना गुरुङ चितवन ३(ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । पूर्वमन्त्री पाण्डेले रिना गुरुङ बौद्धिक एवम् विकासवादी नेतृ भएकाले उहाँलाई पनि जिताउन आग्रह गर्नुभएको छ । राप्रपाले माडीका ९ वटै वडामा मंसिर ४ लाई लक्षित गरी चुनावी प्रचारप्रसार कार्यालयहरु स्थापना गरेको छ ।

प्रतिकृया दिनुहोस्