काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन) कार्यपालिका सदस्यहरूको निरन्तर दबाबपछि आफ्नो एकल निर्णयबाट पछि हटेका छन्। उनले केही समयअघि खोसेको चार जना वडाध्यक्षको विभागीय जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेका हुन्।
मेयर साहले वडाध्यक्षहरू आशामान संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिको संयोजकबाट हटाएका थिए। उक्त निर्णयपछि असन्तुष्ट वडाध्यक्षहरूले कार्यपालिकाको निर्णयबिना एकलौटी काम नगर्न मेयर साहलाई चेतावनी दिएका थिए।
साहले नयाँ जिम्मेवारी दिएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का दलबहादुर कार्की र वडा नम्बर २४ का विनोदकुमार राजभण्डारीले कार्यपालिकाबाट अनुमोदन नभएको भन्दै पद अस्वीकार गरेका थिए। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जिम्मेवारी नलिने घोषणा गरेका थिए।
पछिल्लो समय कार्यपालिका बैठक बस्न नसकिरहेको अवस्थामा उपमेयर सुनिता डंगोलको नेतृत्वमा बहुमत कार्यपालिका र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिएपछि मेयर साह आफ्नो निर्णय उल्टाउन बाध्य भएका हुन्।