डोटी- खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका-१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् ।
पक्राउ परेकाहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ । गुल्मका अनुसार उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो ।