पोखरा- गठबन्धनभित्र खटपट सुरु भएपछि केन्द्रीय सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किशोरदत्त बराल र प्रदेश सभापति शुक्रराज शर्मालाई काठमाडौं बोलाएका छन् । निर्वाचन केन्द्रित छलफल गर्न उनीहरूलाई बोलाइएको कांग्रेस श्रोतले बतायो ।
तर जिल्ला सभापति किशोरदत्त बरालले भने के कारणले बोलाएको भन्ने आफूहरूलाई जानकारी नभएको सुनाए । उनीहरू मंगलबार बिहानै काठमाडौं हिँडेका छन् । साथमा पुर्वमन्त्री यज्ञबहादुर थापालाई पनि लगिएको बरालले बताए । कांग्रेसले कुनै हालतमा पोखराको मेयर छोड्न नसकिने बताएको छ । यहाँ एकीकृत समाजवादीको पनि बलियो दाबी छ ।
दुवै पार्टीबीच गठबन्धनकै बैठकमा चर्काचर्की भएको थियो । कांग्रेसले सोमबार विज्ञप्ति नै निकालेर एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने चेतावनी दिएको छ । एकीकृत समाजवादीले पनि पेल्न खोजे एमालेसँग मिल्ने चेतावनी फर्काएको छ । यद्यपि गठबन्धनको बैठक आज बस्दैछ ।
कांग्रेसका जिल्ला नेताहरूले यसअघि पनि पोखराको मेयर नछोड्ने भन्दै सानेपा घेराउ गरेका थिए । सभापति देउवाले महानगरका विषयमा छलफल सुरु नै नभएको भन्दै नेताहरूलाई हप्काएर पठाएका थिए । अहिले उनै देउवाले निर्वाचनको छलफल गर्न सभापतिहरूलाई काठमाडौं डाकेका हुन् ।