काठमाडौँ - जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । किटानी जाहेरी दिए लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए । शाहले आफूमाथि गरिएको षड्यन्त्र गरिएको बताएका थिए । उनले फेसबुकमार्फत प्रसारित अडियो क्लिपमा आफूमाथि सुन्न नसकिने खालको कुरा गरेको उल्लेख गरेका थिए । उनले आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार भएको उल्लेख गरेका थिए ।
मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ। १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ। पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ।
नाबालिकाको फेरिएको बयान
कलाकार पल शाहबाट श्रृङ्खलाबद्ध बलात्कार भएको भनिएकी नाबालिका एक गायिकाले अदालतमा बयान फेरिन् । आफूमाथि पटक–पटक बलात्कार भएको भनेर प्रहरीमा बयान गरेकी ती गायिकाले अदालतमा बयान दिंदा भने आफूमाथि कुनै ‘घटना’ नभएको बताएकी हुन् । प्रहरीमा दिएको जाहेरी वा बयान खण्डन हुने गरी अदालतमा बयान फेर्नुलाई ‘होस्टाइल’ भएको भनिन्छ ।
जिल्ला अदालत स्रोतका अनुसार, आइतबार अदालतमा बयानका क्रममा पीडितले अत्यन्त अस्वाभाविक व्यवहार देखाएकी थिइन् । उनले कलाकार शाहमाथि लागेका सबै आरोप निराधार भएको भन्दै खण्डन गरिन् । अनि आफू र कलाकार शाह मिल्ने साथी भएको बताएकी थिइन् । ।
नाबालिकका बाबुले पनि फेरे बयान
तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडित नाबालिकाका बुबाले पनि बयान फेरेका छन् । आफूले सुनेको भरमा जाहेरी दिएको भन्दै उनले बयान फेरेका हुन् । २ दिन अगाडि पीडित नाबालिकले पनि बयान फेरेकी थिइन् । उनले, आफूलाई पलले बलात्कार नगरेको बताएकी थिइन् ।
यस्तै, पीडितका बुबाले पनि आफूले सुनेको भरमा जाहेरी दिएको तर नदेखेको तर्क गरेका छन् । पीडितका बुबा अगाडि गायक दुर्गेश थापालाई पनि बकपत्र गराइएको थियो । पीडित नाबालिकका बुबाले जिल्ला प्रहरी कार्यलय तनहुँमा जाहेरी दिने क्रममा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै छोरीलाई जबरजस्ती करणी गरेको उल्लेख गरेका थिए ।
पल शाहको मुद्दामा नाबालिक र उनका पिताले नै बयान फेरेपछि अब के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । कतिपयले जाहेरी दिने पीडितकी पिताले नै बयान फेरेपछि मुद्दा कमजोर बनेको तर्क गरिरहे । कतिपयले भने बयान फेर्दैमा मुद्दा कमजोर नहुने तर्क पनि गरे ।
पल शाह प्रकरण: महिला सांसदको गृहमन्त्री खाणसँग पीडित बालिकामाथी भइरहेको प्रहार रोक्न माग
पल शाह प्रकरणमा आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर विभिन्न राजनीतिक दलका महिला सांसदहरुले पीडित भनिएकी बालिकामाथी बढी प्रहार भइरहेको भन्दै रोक्न माग गरेका थिए ।
भेट गर्ने सांसदहरूको टोलीमा महिला सांसदको पूर्वमन्त्री, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठ थिए ।
कानुनी प्रक्रिया के के हुन्छ ?
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धि कसुर अनुसार दफा २१९९२०मा मन्जुरी लिएर भएपनि १८ वर्ष भन्दा कम उमेरको बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको भनिनेछ ।
त्यस्तै, दफा २१९ ९३० (क) १० वर्ष कम उमेरको बालिका अशक्त, अपांग, ७० वर्ष माथिको महिला भए जन्मकैद हुने उल्लेख गरिएको छ। यसैगरी, ३९ख० १० वर्ष वा १०देखि १४ वर्ष कम भएमा १८–२० वर्ष सम्म कैद संजाय हुने भनिएको छ ।
यसैगरी, ३९ग० १४ वर्ष वा १० वर्ष भन्दा कम १६ वर्ष भन्दा कम भए १२–१४ वर्ष सम्म कैद संजाय तोकिएको छ । ३(घ) १६ वा १६ देखि १८ वर्ष भन्दा कम भएमा १० देखि १२ वर्ष सम्म कैद संजाय हुने भनिएको छ । त्यस्तै, ३(ङ) १८ वा १८ वर्ष भन्दा बढी भएमा ७ देखि १० वर्षसम्म कैद हुने उल्लेख गरिएको छ।
मुलुलकी फौजदारी कार्यविधि संहिता २०७४को परिच्छेद ७ थुनछेक, धरौटी तथा जमानत सम्बन्धि व्यवस्था गरिएको छ ।
जसमध्ये दफा ६७ अनुसार अभियुक्तलाई थुनामा राख्ने
क जन्मकैदको संजाय हुने कसुर
ख ३ वर्ष बढी कैदको सजाय हुने कसुर र
ग (क) (ख) को कसुरको उद्योग, दुरुत्साहन वा षड्यन्त्र वा मतियार भएमा भन्ने उल्लेख गरिएको छ ।
अभियुक्त पल शाह विरुद्धमा नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेको र उक्त आरोप प्रमाणित भएमा निजलाई १० देखि १२ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७(१) (ग) मा ३ वर्ष बढी कैदको सजाय हुने मुद्दामा अभियुक्तलाई थुनामा राख्ने कानुनी व्यवस्थाबमोजिम तत्काल अभियुक्त पल शाह मुद्दा पुर्पक्षको सिलसिलामा थुनामा जाने देखिन्छ ।
पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
शाहलाई थुनामै राखेर अनुसन्धान जारी राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ । योसँगै पल शाह धरौटीमा रिहा हुन्छन् भन्ने धेरैको आशा तत्कालका लागि टरेको छ ।
उच्च अदालतमा केही महिनादेखि चलेको बहसपछि आज न्यायधिसले फैसला सुनाएका हुन् । जिल्ला अदालत, तनहुँले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएपछि पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।
जिल्ला अदालत, तनहुँको आदेशलाई नै सदर गर्दै उच्च अदालत पोखराले पललाई थुनामा राख्न आदेश दिएको हो ।
एक नाबालिका गायिकाका पिताले पलले आफ्नी छोरीलाई बारम्बार बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी परेको ४ दिनपछि फागुण १५ गते पल शाहले प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए ।
प्रहरीले उनलाई ३ साता हिरासतमा राखेर अनुसन्धान गरेको थियो । त्यसपछि उनलाई जिल्ला अदालत, तनहुँले थुनामा राख्न आदेश दिएको थियो । तर, जिल्ला अदालत, तनहुँ र जिल्ला अदालत, नवलपुरमा नाबालिका गायिका र उनका पिताले बकपत्र फेरेपछि पल शाहको मुद्दा कमजोर बनेको चर्चा चलेको थियो ।
तर, उच्च अदालत, पोखराले भने पललाई धरौटी वा साधारण तारेखमा रिहा गर्न अस्विकार गर्दै थुनामा राख्न आदेश दिएको हो ।
पल शाहको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद भइरहेको उनीहरूको दाबी छ ।
उनीहरूले पुरुष अधिकार सुनिश्चित गर, महिला अधिकारको दुरुपयोग नगर, आरोप लगाउँदैमा दोषी करार बन्द गर, न्यायलाई पैसाको तराजुमा जोख्न पाइँदैन, समानतामूलक न्याय कायम गर भन्दै नारा लगाएका थिए ।