काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन्।
डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए। आफूलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन्।
महानगरवासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाएका छन्। केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन्।