चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्युको अवधि लम्ब्याइएको छ । असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिताको भण्डारीको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।
सुजिताको मृत्यु प्रकरणका कारण तनावग्रस्त मंगलबार साँझबाट कर्फ्यु लगाइएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनकाअनुसार कर्फ्यु आज साँझ ७ बजेसम्म कर्फ्यु थप गरिएको हो । तर, अहिले बिहान ८ बजेसम्म अत्यावश्यकीय वस्तु खरिदका लागि छुट दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका-१ लोथरपुलदेखि राप्ती नगरपालिका-४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५०० मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।
राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क ९१० बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो । आदेश अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जारी आदेशमा उल्लेख छ ।