काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि भएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ खरिददर बमोजिम नेपाल आयल निगम लिमिटेडले मूल्य समायोजन गर्दा भाउ बढेको हो।
निगमका अनुसार, साविकको बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर २ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर समान १ रुपैयाँले वृद्धि गरिएको छ।
यद्यपि, हवाई इन्धनको मूल्य भने घटेको छ। आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले मूल्य घटेको छ भने अन्तर्राष्ट्रियतर्फ (काठमाडौंका लागि) प्रति किलोलिटर २२ अमेरिकी डलरले सस्तो भएको निगमले जनाएको छ।
खाना पकाउने एलपीजी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ। यो नयाँ समायोजित मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।