काठमाडौं- फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गर्ने फिल्म बनेको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानी इतिहासमै सर्वाधिक कमाउने फिल्मको कीर्तिमान रचेको हो ।
फिल्मले हालै बक्स अफिसमा १०० करोड भारुको आँकडा समेत पार गरेको छ । पाकिस्तानबाहेक फिल्मले अमेरिका, बेलायत, यूएई लगायतका मुलुकमा समेत बलियो कमाइ गरेको छ ।
बिलाल लशारीको निर्देशनमा बनेको यो फिल्मलाई पाकिस्तानकै अहिलेसम्मको महंगो फिल्म समेत भएको बताइएको छ । यो पाकिस्तानी फिल्मले पहिलोपटक हिन्दी फिल्मलाई समेत पछि पारेको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो फिल्मलाई रामसेतु र थ्यांक गडजस्ता चर्चित हिन्दी फिल्मलाई भन्दा कम शो मिलेको थियो । कम शो पाए पनि ती दुईले भन्दा राम्रो कमाइ गर्न सकेको हो ।
फिल्ममा फवाद खानसहित माहिरा खान प्रमुख भूमिकामा छन् । अली अब्बासी सहायक भूमिकामा छन् । द लिजेन्ड अफ मौला जट्ट सन् १९७९ मा रिलिज भएको कल्ट क्लासिक फिल्म मौला जट्टको रिमेक समेत हो । लिड एक्टर फवादले केही बलिउड फिल्ममा समेत काम गरिसकेका छन् ।
उनले करण जोहरको फिल्म ए दिल है मुस्किल, कपुर एण्ड सन्स र खुबसुरतजस्ता फिल्ममा काम गरिसकेका छन् । माहिरा खान चाहिं शाहरुख खानको फिल्म रइसमा देखिइसकेकी छन् ।