काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । आईतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी कार्यलयहरुमा अझैपनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले निजामति सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहकेो औंल्याउनु भयो ।
प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै उहाँले निजामति कर्मचारीहरुले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेलेको पनि स्मरण गर्नुभयो । उहाँले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्यालयको कार्य सम्पादनमा कुनैपनि राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर प्रचलित कानूनको पूर्ण पालना गर्दै आफ्नो भुमिका निभाउन पनि निजामति कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक संघीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भएपनि यससँग तादम्य कायम हुने गरेर प्रशासनिक संघीयतालाई व्यवस्थापन गर्ने थप कार्यहरु गर्नुपर्ने स्थिति रहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले नयाँ संघीय निजामति सेवा ऐनको सन्दर्भमा निजामति कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको र संघीय निजामति सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुने प्रतिवद्धता जनाउनु भयो ।