×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी हुन प्रधानमन्त्री देउवाले भारत भ्रमणका नाममा तोडेका तीन परम्परा

यी हुन प्रधानमन्त्री देउवाले भारत भ्रमणका नाममा तोडेका तीन परम्परा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो ।भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोडेका छन् ।

उनले तोडेको पहिलो परम्परा हो– भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग गरिने छलफल । यसभन्दा अघि देशका प्रभानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गर्ने अभ्यास रहेको थियो । छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्थे । तर यसपटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गरेनन् ।

प्रधानमन्त्री देउवाले यस पटक भारत भ्रमण गर्दा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा समेत जाने भएका छन् । यो उनले तोडेको दोस्रो परम्परा हो । यसअघिका भ्रमणहरुमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गरेका थिएनन् । यो कूटनीतिक मर्यादा विपरित पनि हो ।

देशको प्रतिनिधित्व गरेर जाने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरुको तर्क छ ।

भारत भ्रमण गर्ने वहानामा प्रधानमन्त्री देउवाले तोडेको अर्को तेस्रो परम्परा हो– नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रम ।

प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौदेखि रहिआएको छ । तर यसपटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागी हुनेछैनन् ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने भएकोले उक्त कार्यक्रममा सहभागी नहुने नेपाली सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्