काठमाडाैँ- नेकपा (एकीकृत समाजवादी)ले पार्टीका सातवटै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरूको नेतृत्वमा अनुगमन टोली गठन गरेको छ ।
बिहीबार काठमाडौँमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको गतिविधिलाई प्रभावकारी बनाउनका लागि सातवटै प्रदेश कमिटीको गतिविधिको अनुगमन गर्ने निर्णय गर्दै अनुगमनका लागि केन्द्रीय नेताहरूको नेतृत्वमा टोली गठन गरेको हो ।
जसअनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राइ, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झाको नेतत्वमा अनुगमन टोली बनाइएको हो ।
बैठकले स्थानीय तह निर्वाचनको नारा ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने तय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनले आगामी निर्वाचनका तालमेलका लागि पार्टी खुल्ला रहेको पनि बताए । त्यस्तै उनले आगामी निर्वाचनका लागि उम्मेदवारको मापदण्ड निर्माण गरिरहेको उल्लेख गरे ।
बैठकमा गठबन्धन र केन्द्रीय कमिटी निर्णयका बारेमा पनि छलफल भएको खतिवडाले बताए । त्यस्तै उनले संगठन निर्मााणको अभियानलाई चुनाव प्रसारको अभियानसँग जोड्ने जानकारी दिए ।