काठमाडौँ- निर्वाचन आयोगले झन्डै १ सय जना उम्मेदवारबाट ३ करोड ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । गत स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाई जरिवानामा परेकाहरूले फेरी आगामी चुनावका लागि उम्मेदवार बन्न सो जरिवाना बुझाएका हुन् ।
जरिवाना नबुझाई उम्मेदवार हुन नपाउने व्यवस्था अनुसार अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि उम्मेदवार बनेका ती उम्मेदवारहरूले विभिन्न निर्वाचन कार्यालय मार्फत जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
जरिवानामा परेका उम्मेदवारले जरिवाना नतिरी उम्मेदवारी दर्ता गरेको भए रद्ध हुने पौड्यालले बताए । त्यस्ता उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी दिन सकिने उनले बताए । दाबी विरोधको समयसम्म पनि जरिवाना नतिर्नेको उम्मेदवारी खारेज हुनेछ ।
आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई जरिवाना गरेको थियो । उनीहरूलाई आउँदो फागुनसम्म जरिवाना रकम बुझाउने समय दिइएको छ । सो अवधिसम्म जरिवाना नबुझाए उनीहरूलाई आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नसक्ने गरी कालोसूचीमा राखिने आयोगले जनाएको छ ।