काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटिभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयबाट सीसीटिभी फुटेज माग गरेको थियो । फुटेज डिलिट भएको मन्त्रालयको जवाफपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । समितिलाई उक्त रिपोर्ट सोमबार बुझाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।
बजेट निर्माणका क्रममा गत १४ जेठमा राति मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि पूर्व अर्थमन्त्री शर्मामाथि छानबिनका लागि समिति गठन भएको थियो भने उनले राजीनामा दिएका थिए ।
समितिलाई सुरूमा १० दिनको म्याद दिइएकोमा बिहीबार पुनः ७ दिनको म्याद थपिएको छ । तर, समितिले सरोकारवालासँग बयान लिएपनि अहिलेसम्म आरोप पुष्टि हुने कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन ।