काठमाडौं: प्राकृतिक विपत्तिको सामना गर्ने पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवारीपन देखाएको पाँच प्रमुख राजनीतिक दलले आरोप लगाएका छन् ।
बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधव नेपाल पक्षीय नेकपा एमाल, उपेन्द्र पक्षीय जसपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सरकारले प्राकृतिक विपत्तिमा कुनै पूर्वतयारी नै नगरेर गैजिम्मेवार रहेको आरोप लगाएका हुन् ।
उनीहरूले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन नेपाल सरकारसँग माग गरेका छन् ।
‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसँग माग गर्दछौं‚’ जारी विज्ञप्तिमा भनिएको छ‚ ‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं ।’
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र याद र राजमोका उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा आ-आफ्ना स्थानबाट उद्धार र राहतका क्रियाकलापमा योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्याउन आफ्ना पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान गरेका छन् ।