नवलपुर - पूर्वी नवलपरासीमा अचानक राति दुई जना बच्चाको निधन भएको छ। अस्थायी प्रहरी पोष्ट बेल्डियाले दिएको जानकारीअनुसार गैंडाकोट–१४, अमरापुरी बस्ने भिमप्रसाद सापकोटाकी ७ वर्षीय छोरी सृष्टी सापकोटाको सुतिरहेकै अवस्थामा निधन भएको छ।
राति आमासँगै सुतेकी बालिका बिहान अबेरसम्म नउठेपछि आमा गई उठाउँदा बालिका मृत अवस्थामा भेटिएको हो। प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान थालेको जनाएको छ। बालिकाको शब भरतपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको गैंडाकोट प्रहरीले जनाएको छ।
त्यसैगरी गैडाकोट नगरपालिका १ बस्ने प्रेम सुनारको छोरा वर्ष अं. ७ का आयुष वि.क.को पनि निधन भएको छ। खाना खाई सुतेका बालक राति अचानक पेट दुखेर बिरामी भएपछि उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा उनको उपचारकै क्रममा राति नै निधन भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ। बालकको शव पनि आफन्तले बुझिसकेका छन्। दुवैको मृत्युको कारण भने हालसम्म खुलेको छैन।