विराटनगर- प्रदेश सभाको सदस्यमा धनकुटाकी हिमा बस्नेतले शपथ लिएकी छिन् । एक कार्यक्रमका बिच प्रदेश १ संसद् सचिवालयमा भएको कार्यक्रममा प्रदेश १का सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई शपथ गराएका हुन् ।
प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजीनामा दिएसँगै समानुपातिक पाँचौँ वरियतामा रहेकी बस्नेतलाई निर्वाचन आयोगले मनोनीत गरेसँगै उनलाई सभामुखले शपथ गराएका हुन् ।
प्रदेश नं १ प्रदेश सभा सदस्यको नेकपा ९एमाले०को तर्फको रिक्त रहेको एक जना समानुपातिक सिटमा एमाले नेत्री बस्नेतलाई प्रदेश सभा सदस्यमा मनोनीत गर्ने निर्णय भएको हो । नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले २०७९ असार १५ गते देखि लागु हुनेगरि पदबाट राजीनामा दिएकी थिइन् ।
अल्पसंख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बनेकी हुन् । नेकपा एमालेको प्रदेश १ कमिटी सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगको असार २० गतेको पत्रले बस्नेतलाई मंगलवार प्रदेश सभामा शपथ गराइएको हो ।
मनोनीत भएकी प्रदेश सभा सदस्य बस्नेतलाई सभामुख भण्डारी सहित मुख्यमन्त्री राजेन्द्र राई, उपसभामुख सरस्वती पोखरेल, एमाले संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, स्वास्थ्य मन्त्री जयराम यादव तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे लगायतले बधाई दिएका थिए ।
तत्कालीन सांसद खातुनले सरकारी कागजपत्र, सरकारी छाप र हस्ताक्षर किर्ते गरेको अभियोगमा अदालतले दोषी प्रमाणित गरेपछि पदबाट राजीनामा गरेकी थिइन् ।
अदालतले खातुनलाई एक वर्ष कैद तथा १४ हजार ५०० रुपैयाँ नगद जरिवाना गर्ने फैसला गरेको थियो ।