×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मलाई चक्रव्यूहमा फसाउन खोजिँदै छ : रवि लामिछाने

मलाई चक्रव्यूहमा फसाउन खोजिँदै छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजिएको बताएका छन् । उनले केही पनि नगर्नेले केही गर्छु भन्नेसँग सधैं जवाफ खोज्ने गरेको बताउँदै आफूलाई केवल जनताको मतले मात्रै जोगाउन सक्ने बताए ।

चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले चितवनले व्यक्तिलाई मात्रै नभएर देशलाई नै न्याय गर्नेमा आफूलाई विश्वास रहेको बताए । ‘म सधैं चक्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैं घेराबन्दीमा पारिन्थ्यो’, उनले भने, ‘मैले जसोतसो तपाईंको मायाले सद्‍भावले ती घेराहरु तोड्न सफल भएको थिएँ । म अहिले पनि यस्तो चक्रब्यूहमा छु, त्यो चक्रब्यूहबाट मुक्त हुने तपाईंहरुले घण्टी चिह्नमा मतदान गरेरमात्रै सम्भव हुनेछ ।’

लामिछानेले आफूले हिजोका दिनदेखि नै सबैको कानमा घण्टी बजाइरहेकोले अभिमन्यूको नियति भोग्नुपरेको बताउँदै अब भने जनताको मत प्राप्त गरेपछि ‘ब्याण्ड’ नै बजाउने बताए । उनले नागरिकता विवादतर्फ इंगित गर्दै आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताए ।

‘मलाई जिउँदो छस् भनेर प्रमाणित गर् भनिने छ र म त्यसको प्रमाण जुटाउन कुनै वडामा सिफारिस प्राप्त गर्नका लागि दस्तुर बुझाएको हुनेछु’ उनले भने, ‘अब मसँग आफ्ना लागि भन्नुपर्ने केही पनि बाँकी छैन । म विवादसँग डराउने मानिस होइन । मलाई त देशै निकाल्न खोजेका मान्छेहरु पनि थिए । तर आज तिनीहरु कहाँ छन् मलाई थाह छैन । म हरेक नागरिकको घरमा सुखदुःखमा साथै छु ।’

प्रतिकृया दिनुहोस्