×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले के बापत दियाे विश्वासको मत ?

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले के बापत दियाे विश्वासको मत ?

काठमाडौं- एमाले–माओवादीसहित सात दलको समर्थनमा प्रधानन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट असाधारण बहुमतसहितको विश्वासको मत पाए । २७५ सदस्यीय संसद्‍मा प्रमुख प्रतिपक्षी दल कांग्रेसलेसमेत विश्वासको मतसम्बन्धी प्रस्तावमा मत हालेपछि उनले प्रचण्ड बहुमत हासिल गरे ।

कुल उपस्थित २७० सांसदमध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहके अन्य २६८ सांसदले प्रचण्डलाई विश्वासको मत दिए । पाँच सांसद भने मंगलबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित थिए ।

गएको ४ मंसिरमा सम्पन्न आमनिर्वाचनबाट संसद्को सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षी वेञ्चमा पुगेको कांग्रेससमेत प्रधानमन्त्री प्रचण्डलाई मत दिन तयार कसरी भयो ? यो कौतुहलता सबैको मनमा पक्कै छ । कतिपयले कांग्रेससँग आन्तरिक सहमति भएको लक काटिरहेका बेला स्यवं प्रचण्डले भने आफूहरुबीच कुनै सहमति/सम्झौता नभएको स्पष्ट पारे ।

प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले उक्त धारणा राखेका हुन् । प्रधानमन्त्रीलाई कांग्रेसले कुन सर्तमा विश्वासको मत दियो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘कुनै सर्त छैन ।’

विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्री प्रचण्डले रक्षा गरेका छन् । ओली र आफूबीच कुनै मतभेद नरहेको पनि उनले दाबी गरे ।

प्रचण्डले संसद्‌मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस्