आइफोन निर्माता कम्पनी एप्पल स्टोरका कर्मचारीहरुले आफ्ना ‘बोस’ बाट लुकेर कुरा गर्न एन्ड्रोइड फोनको प्रयोग गरिरहेका छन् । अमेरिकाभरका अधिकांश एप्पल स्टोरका कर्मचारीहरुले आफूहरुबीचको कुराकानी गोप्य राख्न यस्तै तरिका अपनाइरहेको बताइएको छ ।
देशभरका ३०० स्टोरमा एप्पलका ६५ हजार भन्दा बढी रिटेल कर्मचारीहरु छन् । यसरी कर्मचारीहरुको यो कदमलाई देशका दुई प्रमुख युनियनहरुले पनि समर्थन गरिरहेको पाइएको छ । कम्पनीका अन्यायपूर्ण नीति विरुद्ध गोप्य रुपमा लड्नका लागि स्टारबक्स, अमेजोन जस्ता अन्य ठुल्ठुला कम्पनीहरुमा पनि यस्तो गरिएको छ । यसमा उनीहरुले लुकेर युनियन निर्माण गरि बिना अनुमति मिडियासँग अन्र्तवार्ता गरि खुलासा गरेका थिए ।
एप्पलका रिटेल सेल्स असोसिएटले वार्षिक ३० हजार ७७२ डलर मात्र कमाउँछन् जुन राष्ट्रिय औसत भन्दा २४ प्रतिशत कम हो । यसैकारण आफ्नो म्यानेजमेन्टले थाहा नपाउनेगरि एप्पलको प्रमुख प्रतिस्पर्धी एन्ड्रोइडको ‘एन्क्रिप्टेड म्यासेजिङ’ फिचर मार्फत गोप्य मिटिङहरु सञ्चालन गर्दै आएको वासिङटन पोस्टले रिपोर्ट गरेको छ ।
एप्पलको रिटेल स्टोरमा काम गर्ने एक श्रम आयोजकले भनेका छन्, “मेरा धेरै सहकर्मी र साथीहरु छन् जसलाई म वास्तवमै माया गर्छु । तर उनीहरुको कमाइले खानै पुग्दैन । उनीहरु हरेक दिन संघर्ष गरिरहेका छन् । जबकी हामी यस्तो कम्पनीमा काम गरिरहेका छौँ जससँग यस्ता सबै समस्या समाधान गर्न पर्याप्त श्रोतसाधन छ ।”
हालसम्म एप्पल कम्पनीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसअघि क्रिस्मस इभका दिनमा एप्पल रिटेलका ५० भन्दा बढी कामदारहरुले खराब कार्यस्थल वातावरणको विरोध गर्दै एकसाथ काम छाडेका थिए । उनीहरुले कार्यस्थलमा सम्मानजनक व्यवहार गरिनुपर्ने र तलबयुक्त बिरामी बिदाको माग राखेका थिए ।
यसपछि एप्पलले केही रिटेल कर्मचारीहरुको तलब पनि बढाइदिने प्रस्ताव गरेको थियो । तर यसमा प्रति घण्टाको एक डलर जस्तो मात्र वृद्धि गरिएपछि थप गुनासो आएको हो । अधिकांशले कम्तीमा पनि ५ डलर भन्दा बढी ‘एक्स्ट्रा’ राखिने अपेक्षा गरेका थिए ।
कम पारिश्रमिककै कारण कर्मचारीहरु यसरी गुपचुप भेला भइ कम्पनी विरुद्ध मिटिङहरु आयोजना गर्न बाध्य बनेको बताइएको छ । एप्पल विश्वकै सर्वाधिक मूल्यवान् कम्पनी हो जसको मूल्य ३ ट्रिलियन रहेको छ । त्यसले आफूले प्राप्त गर्ने उल्लेखनीय नाफाको हिस्सा कर्मचारीहरुलाई पनि दिइनुपर्ने उनीहरुको भनाइ छ ।
रिटेल कर्मचारीहरुले पोस्टसँग बताए अनुसार आफूहरुले समर्पित भएर सबै उत्पादन विक्री गरिरहेकै कारण कम्पनीले ठूलो स्तरमा व्यापारिक सफलता हासिल गर्दै आएको छ । त्यसैले नाफाको अधिक हिस्साका लागि आफूहरु पनि उत्तिकै योग्य रहेको उनीहरुले बताएका हुन् ।
२०२१ मा मात्र एप्पलका २७० स्टोरले कूल आम्दानी, ३६५.८२ अर्ब डलरको ३६ प्रतिशत हिस्सा कमाइ गरेका थिए ।
यता एप्पलका कार्यकारी प्रमुख टिम कुकले चाहिँ गत वर्ष औसत कर्मचारी भन्दा १,४४७ गुणा बढी वार्षिक पारिश्रमिक प्राप्त गरेका थिए । यति मात्र नभइ स्टकबाट प्राप्त नाफाले पनि उनको कमाइ १० करोड डलर पुर्याउन मद्दत गरेको बताइएको छ ।