जनकपुरधाम- यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाख राजस्व सङ्कलन गरेको छ ।
मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि सो राजस्व सङ्कलन भएको हो ।आर्थिक वर्ष २०७८/७९ रु ५५ करोड ५६ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए ।
आव २०७८/७९ मा सवारी करबाट रु ४२ करोड २२ लाख, सवारी चालक अनुमति पत्र तथा नवीकरणबाट रु १२ लाख तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख राजस्व सङ्कलन भएको छ ।
यो अघिल्लो आवभन्दा रु २२ करोड ३० लाख बढी हो । गत आवमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो । यस्तै आव २०७८/७८ मा १६ हजार एक सय ८७ मोटरसाइकल, पाँच सय ११ ट्र्याक्टर, चार सय ७१ टेम्पु, २८२ ई–रिक्सा तथा २३८ जिप/कारलगायत दर्ता भएको साहले बताए ।
सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमति पत्र वितरण गरिएको छ भने २२ हजार ७५० जनाको नवीकरण गरिएको छ ।