×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं महानगर अगाडि सुकुम्बासी बस्तीका बासिन्दाको विशाल प्रदर्शन

काठमाडौं महानगर अगाडि सुकुम्बासी बस्तीका बासिन्दाको विशाल प्रदर्शन

काठमाडौं- थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं हामनगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उचित व्यवस्थापन विना आफूहरुलाई हटाउन लागिएको भन्दै उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेर बस्ती भत्काएपछि त्यहाँका बासिन्दा आक्रोशित भएका थिए । त्यसक्रममा दुवै पक्षबीच झडपसमेत हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् । थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरुले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न महानगर टोली हिजो पुगेसँगै थापाथली क्षेत्र अशान्त छ । यो क्षेत्रमा करिब ५ हजार सुकुम्बासीको जनसंख्या रहेको अनुमान छ ।

प्रतिकृया दिनुहोस्