काठमाडौँ- काठमाडौं महानगरपालिकाले गत चैत एक गतेदेखि सुरु गरेको निःशुल्क कानुनी परामर्श सेवा दुई हजार आठ सय नौ जनाले लिएका छन् । नागरिकलाई सामान्य किसिमको कानुनी परामर्श दिने उद्देश्यसहित कामपाले एक महिनाअघिदेखि कामपाको ३२ वटै वटा कार्यालयमार्फत निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको थियो । उक्त न्यायिक समितिमार्फत न्यायिक सेवामा एक हजार सात सय ३८ जनाको कानुनी लिखत तथा अन्य मस्यौदाको सेवा लिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।
जम्मा सेवाग्राही दुई हजार आठ सय नौमध्ये सात सय ४७ जनालाई मौखिक कानुनी तथा न्यायिक परामर्श सेवा उपलब्ध गराइयो भने तीन सय २७ जनालाई अन्य (प्रशासनिक) सेवा उपलब्ध गराइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
यसरी प्रत्येक वडाबाट नागरिकलाई निःशुल्क कानुनी सेवा प्रदान गर्न गत माघ १७ गते कामपा र नेपाल ल क्याम्पसबीच सम्झौता भएको थियो ।