×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पब्जी खेल्न नदिएको झोँकमा आफ्नै आमाको हत्या

पब्जी खेल्न नदिएको झोँकमा आफ्नै आमाको हत्या

चर्चित अनलाइन खेल पब्जी खेल्न नदिएको झोकमा भारतमा एक १६ वर्षीय किशोरले गोली हानी आफ्नै आमाको हत्या गरेका छन् । घटना उत्तर प्रदेशको लखनऊमा पर्ने यमुनापुरम कोलोनीमा भएको प्रहरीले जनाएको छ । एडिशनल डीसीपी कासिम आबिदीले समाचारसंस्था पीटीआईलाई भनेः “लखनऊको पीजीआई प्रहरी थानाअन्तर्गत पर्ने यमुनापुरम कोलोनीमा एक महिला दुई बच्चासहित बस्थिन् । उनका श्रीमान् सरकारी जागिरको सिलसिलामा हाल पश्चिम बङ्गालमा छन् ।”

“सोह्र वर्षका यी किशोर पब्जीको कुलतमा फसेका रहेछन् । किशोरका अनुसार उनकी आमाले पब्जी खेल्नबाट रोक्ने गर्थिन् । आइतवार सखारै उनले आफ्नो बुवाको लाइसेन्स प्राप्त पिस्तोलले आमाको हत्या गरे ।” हत्यामा प्रयोग गरिएको पिस्तोल प्रहरीले बरामद गरेको छ । क्षतविक्षत अवस्थामा महिलाको शव मङ्गलवार फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोस्टमोर्टमका लागि शव अस्पताल पठाइएको छ भने किशोरलाई हिरासतमा लिइएको छ ।

 

दुई दिनसम्म शव कोठाभित्रै

प्रहरीलाई उद्धृत गर्दै पीटीआईले जनाएअनुसार किशोरले आमाको हत्या गरेपछि शवलाई दुई दिनसम्म कोठाभित्रै राखेका थिए । आमालाई गोली हान्ने बेला उनकी नौ वर्षीया बहिनी पनि त्यही थिइन् । तर किशोरले घटनाबारे कसैलाई बताएमा ठिक नहुने भन्दै बहिनीलाई चेतावनी दिएका थिए ।
शवबाट दुर्गन्ध आउन थालेपछि किशोरले ’रुम फ्रेशनर’को प्रयोग गरेको बताइएको छ । प्रहरी अधिकारी आबिदीले भनेः “शवबाट दुर्गन्ध आउन थालेपछि किशोरले आफ्नो बुवालाई घटनाबारे बताए । उनका बुवाले छिमेकीलाई बताए अनि छिमेकीहरूले प्रहरीलाई खब गरे ।”

प्रहरीका अनुसार सुरुमा ती किशोरले घटनाबारे झूटो कथा बुन्ने प्रयास गरेका थिए ।
हत्या आफूले नभई उनीहरूको घरमा आइरहने बिजुलीको काम गर्ने व्यक्तिको गरेको बताएका थिए । तर ती व्यक्तिसँग सोधपुछ गर्दा किशोरले झूटो बोलेको थाहा भयो ।

भारतले चीनमा विकसित ११८ वटा मोबाइल एपमाथि दुई वर्षअघि प्रतिबन्ध लगाएकोमा पब्जी पनि एउटा थियो । तर त्यो प्रतिबन्ध मोबाइल भर्सन अर्थात् मोबाइलमा चलाउन मिल्ने मात्र प्रतिबन्धित रहेको पाइयो । रिपोर्टहरूका अनुसार डेस्कटप भर्सन चाहिँ उपलब्ध थियो । मोबाइलमा पनि पब्जी भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनको प्रयोग गरी खेल्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्