काठमाडौँ- विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका प्रवक्ता शरदराज पाठकले न्यायाधीशहरूको बेन्च बहिस्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको संकट समाधानार्थ न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग गरेको हो । समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठनका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ,’ पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा न्यायालयको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न मुख्य भूमिका खेल्नुपर्ने प्रधानन्यायाधीश स्वयम् नै न्यायिक विचलनको मूल स्रोत बन्नु र कार्यपालिकासमेतमा हिस्सेदारी खोज्नु विधिको शासनबाट संचालित मुलुकमा कल्पनाबाहिरको विषय भएको उल्लेख गरिएको छ । ‘लोकतान्त्रिक पद्धति र मूल्य माथि नै गम्भीर आँच पुग्ने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट प्रदर्शित विचलन र गैरसंवैधानिक महत्त्वाकाङ्क्षा एवम् न्यायपालिकामा वर्षौँयता थुप्रिँदै गएका अधिकांश विकृतिको चाङका लागि हाम्रा लागि प्रमुख राजनीतिक दलहरूको गैह्र लोकतान्त्रिक चरित्र र विकृत दोहनकारी अभ्यास पनि उत्तिकै जिम्मेवार छन्‚’ विज्ञप्तिमा भनिएको छ ।
उक्त आयोगले न्यायाधीश नियुक्तिको हालको प्रक्रिया र संवैधानिक व्यवस्थाको गम्भीर पुनरावलोकन गरी समग्र न्यायपालिकाको शुद्धीकरणका लागि सिफारिस गर्ने अधिकार दिइनुपर्ने र आयोगका सुझाव कार्यान्वयन सुनिश्चित गर्नुपर्ने साझाले माग गरेको छ ।