×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

६ वर्षपछि अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा

६ वर्षपछि अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा

६ वर्षपछि विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा उक्लेको छ । फिफाले अप्रिल महिनाको नयाँ फिफा वरीयता सार्वजनिक गर्दा अर्जेन्टिना शीर्ष स्थानमा उक्लेको हो । अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । अर्जेन्टिनाले पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई शीर्ष स्थानबाट विस्थापित गरेको छ । ब्राजिलले दुई स्थान गुमाउँदा तेस्रो स्थानमा झरेको छ । विश्वकपको उपविजेता फ्रान्सले एक स्थान सुधार गरी दोस्रो स्थानमा उक्लेको छ । विश्व वरीयतामा चौथोदेखि दसौँ स्थानसम्म केही परिवर्तन भएन ।

बेल्जियम चौथो, इंग्ल्यान्ड पाँचौँ, नेदरल्यान्ड्स छैटौँ, क्रोएसिया सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ र स्पेन दसौँ स्थानमा यथावत् छन् । अर्जेन्टिनाले सर्वाधिक १८४० अंक जोडेको छ । फ्रान्सले १८३८ अंक हात पारेको छ । अर्जेन्टिना र फ्रान्सबीच केवल दुई अंकको फरक रहेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलको १८३४ रेटिङ अंक रहेको छ । अर्जेन्टिनाले पछिल्ला दुई खेलमा पानामालाई २–० र काराकोओलाई ७–० ले हराएको थियो ।

यही दुई महत्वपूर्ण जितले अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा उक्लेको फिफाले जनाएको छ । अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । अर्जेन्टिना अन्तिमपटक सन् २०१७ मा शीर्ष स्थानमा रहेको थियो । यसअघि शीर्ष स्थानमा रहेको ब्राजिलले भने मोरक्कोसँग मैत्रीपूर्ण खेलमा २–१ ले पराजित भएको थियो । यस हारसँगै ब्राजिलले आफ्नो शीर्ष स्थान गुमायो । फिफा वरीयतामा क्यामरुनले सर्वाधिक अंक गुमाएको छ । क्यामरुनले २९ रेटिङ अंक गुमाउँदा नौ स्थान तल झरेको छ ।

नेपालको स्थान सुधार
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेता नेपालले फिफा वरीयतामा एक स्थान सुधार गरेको छ । नेपाल नयाँ वरीयतामा १७४औँ स्थानमा छ । नेपालले गत साता वरीयतामा आफूभन्दा मुनिका राष्ट्र लाओस र भुटानसँग थ्री नेसन्स कपमा प्रतिस्पर्धा गरेको थियो । नेपालले भुटान र लाओससँगको फिफा डेमा प्रतिस्पर्धा गरेको थियो ।

नेपाल र लाओसबीचको फाइनल खेल फिफा डे नपरेका कारण दुवै राष्ट्रले वरीयता अंक पाएनन् । नेपालले ६.१६ रेटिङ अंक प्राप्त गरेको छ । भुटान १८५औँ स्थानमा यथावत् रहेको छ । थ्री नेसन्स कपको फाइनलिस्ट राष्ट्र लाओसले एक स्थान गुमाएको छ । लाओस नयाँ वरीयताको १८८औँ स्थानमा रह्यो । यसअघि लाओस १८७औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा भारत शीर्ष स्थानमा छ । विश्व वरीयतामा भारत १०१औँ स्थानमा छ ।

भारतपछि माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ । माल्दिभ्स १५४औँ स्थानमा छ । बंगलादेश १९२ र पाकिस्तान १९५औँ स्थानमा छन् । फिफा वरीयतामा श्रीलंका सबैभन्दा पुछार २०७औँ स्थानमा रहेको फिफाले जनाएको छ । एसियाली राष्ट्रतर्फ जापान सबैभन्दा माथि २०औँ स्थानमा छ । इरान २४औँ र दक्षिण कोरिया २७औँ स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्