कैलाली - कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि बिहीबार कार्यकक्षभित्रै कुटपिट भएको छ। नगर प्रमुख देविदत्त कँडेलका सहयोगी उमेश जोशीले कुटपिट गरेको आरोप लागेपछि नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्।
घटनाको विरोधमा कर्मचारीहरूले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन्। उनीहरूले एक विज्ञप्ति जारी गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, "सार्वजनिक कार्यालयभित्रै कर्मचारीमाथि भएको आक्रमणले हामी सबैलाई असुरक्षित बनाएको छ। यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र सुरक्षित काम गर्ने वातावरण बनाउन हामी जोडदार माग गर्दछौँ।"
के थियो विवाद?
कुटपिटको यकिन कारण नखुले पनि नगर प्रमुख कँडेल र प्रमुख प्रशासकीय अधिकृत जोशीबीच लामो समयदेखि विवाद रहेको बताइएको छ। नगरपालिकाका एक कर्मचारीका अनुसार, जोशीको कार्यशैली एकलौटी भएको र नगर प्रमुखसँग सल्लाह नगर्ने गरेकाले मेयर असन्तुष्ट थिए।
बिहीबार वडासचिवको सरुवा र कर्मचारीको तह मिलानबारे छलफल गर्न मेयर कँडेलले जोशीलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए। तर, दुई पटक बोलाउँदा पनि जोशी नगएपछि मेयरका सहयोगी उमेश जोशी बोलाउन जाँदा हातपात भएको स्रोतले बतायो।
कुटपिटमा परेका प्रमुख प्रशासकीय अधिकृत जोशीले घटनाबारे जानकारी गराउन कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई भेटेका छन्। उनले यसबारे प्रजिअसँग छलफल भइरहेको र पछि विस्तृत जानकारी दिने बताएका छन्।