तयारी नपुग्दा चीनले प्रदान गर्ने ‘भेरोसेल’ खोप ल्याउन ६ दिन ढिलो हुने भएको छ । नेपाल वायुसेवा निगमको जहाज खोप ल्याउन दोस्रो पटक विहीबार बेइजिङ उड्ने तालिका तय भए पनि चीनले केही तयारी अपुग भएको जानकारी दिए पछि ६ दिन पछि साउन ६ गतेलाई उडान तालिका तय गरिएको निगमका अप्रेसन शाखा प्रमुख बरिष्ठ क्याप्टेन दिपु ग्वार्चनले जानकारी दिएका छन् ।
खोप ल्याउन साउन ६ गते दिउँसो ३ः४५ बजे वाइडवडी–३३० बेइजिङतर्फ प्रस्थान गर्ने छ ।
निगमले खोप ल्याउनका लागि साउन ६, ७ र ९ गतेका लागि नयाँ तालिका बनाएको समेत उनले बताए ।
यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो ।
सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ ।
नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुँवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् ।
यस अघि निगमले असार ३१ गते, साउन १ गते र साउन ७ गते पुनः खोप ल्याउने गरी तालिका सार्वजनिक गरेको थियो ।
सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।