×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विदेशबाट फर्केर गाउँमै भैँसीपालन

विदेशबाट फर्केर गाउँमै भैँसीपालन

सिन्धुपाल्चोक -  विदेशमा रगत पसिना बगाएर फर्केका चौतारा साँगचोकगढी नगरपालिका–४ का तीन युवाले गाउँमै व्यावसायिक रुपमा भैँसीपालन गरेर मनग्गे आम्दानी हात पार्न थालेका छन् । कुमार सापकोटा, माधवराज गिरी र टोपनाथ सापकोटाले संयुक्त रुपमा ५५ लाख रुपियाँबाट शुरु गरेको भैँसीपालनबाट अहिले उनीहरुले मासिक साँढे चार लाखभन्दा बढी आम्दानी पाउन थालेका छन् । ११ वटा भैँसीपालन शुरु गरेका उनीहरुको फर्ममा अहिले २१ वटा भैँसी र १७ वटा पाडापाडी पुगेको छ ।
सिन्धु कुबिण्डे कृषि फर्ममा ३६ रोपनी बढी जग्गामा भैंसीका लागि घाँस रोपिएका छन् । भैँसीको मलमुत्रबाट मौसमनुसारको तरकारी खेती पनि गरेका छन् । एउटै भैँसीबाट १४ लिटरभन्दा बढी दूध उत्पादन भइरहेको छ । दैनिक १२५ लिटर दुध चौतारा बजारमा लगेर विक्री गर्ने गरेका छन् । उनीहरुको फर्ममा छ जनाले रोजगारी पाएका छन् ।
विदेशमा रगतपसिना बगाएर अरुको देश बनाउनुभन्दा आफ्नै गाउँमा व्यवसाय गरेर आम्दानी लिन पाउँदा उदाहरणीय बनेको कुमार गिरीले जानकारी दिनुभयो ।
अर्का व्यवसायी माधवराजले परिवारसँगै बसेर गाउँमै काम र दाम कमाउन पाएकोमा हर्ष व्यक्त गर्नुभयो । उनीहरुले भैँसीपालन व्यवसाय गरेर उदाहरणीय बनेपछि सिन्धुपाल्चोकका अन्य युवाहरु पनि कृषि पेशा व्यवसायिक रुपमा गर्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले कृषिक्षेत्रमा व्यवसाय गर्ने नगरवासीलाई नगरपालिकाले विभिन्न सेवासहितको अनुदान दिँदै आएको बताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस्