लमजुङ- लमजुङको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । विभिन्न स्थानमा असार पहिलो हप्ता रोपिएको धानबालीमा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले बताएका छन् ।
विशेषगरि बेसीशहर नगरपालिका-११ रामचोक फाँट, सुन्दरबजार नगरपालिकाको वडा नं. ६ र १० का फाँटहरूमा खपटे किरा (राइस हिस्पा) को प्रकोप देखिएको छ । किराका कारण धानबाली सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन् । खपटे किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाह अनुसार धानवालीमा विषादी छर्किएको छ। कृषि ज्ञान केन्द्र र बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले प्रकोप भएको स्थानमा अनुगमन गरेर विषादी प्रयोग गर्न किसानलाई सल्लाह दिएका हुन् ।
किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी कृषि ज्ञान केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरूलाई विषादी उपलव्ध गराइएको छ । रामचोक फाँटको करिब एकसय रोपनी धानवालीमा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । धानको पात खाएर विरुवा नै सुक्ने, किराले धानको गुभो खान लागेपछि धानबाली नष्ट हुने समस्या देखिएको छ ।