पोखरा- जिल्लाको ब्रिफिङ सुनाउन बालुवाटार पुगेका कास्की कांग्रेसका नेताहरूलाई सभापति शेरबहादुर देउवाले परिस्थिति बुझिदिन अनुरोध गरे ।गठबन्धन बाध्यात्मक भएको भन्दै उनले यो परिस्थितिलाई बुझिदिन आग्रह गरेका हुन् । ‘हामीले पोखराको वस्तुस्थिति भन्यौँ ।
एकीकृत समाजवादी वा अरू पार्टीलाई मेयर दिँदा रिजल्ट निकाल्न सक्दैनौँ भनेर रिपोर्टिङ गरियो,’ जिल्ला सभापति किशोरदत्त बरालले भने, ‘नेताहरूले सुनेर हुन्छ प्रयास गर्छौँ भन्नुभयो । तपाईँहरूका कुरा सुन्यौँ अब गठबन्धनका साथीहरूसँग बैठक हुन्छ । यी कुरा उता राख्छौँ र निर्णयमा पुग्छौँ भन्नुभयो ।’
बरालले अहिले कांग्रेसले टिकट नपाए संगठनको अहितमा जाने बताएका थिए । उनले कुनै हालतमा कांग्रेसले मेयर पाउनुपर्ने रिपोर्टिङ गरेको बताए । ‘कांग्रेसको संगठनको हितमा नहुने र संगठन कमजोर हुने कुरा सुनायौँ । हामी ११ गतेसम्म कोसिस गर्छौँ,’ उनी भन्छन्, ‘समय हुन्जेल दबाब दिनुपर्यो । आन्दोलन गर्नुपर्यो । विरोध गरिरहन्छौँ ।’
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि नेताहरूले राम्रोसँग परिस्थिति नबुझेको बताए । ‘हाम्रा कुरा राख्यौँ । जिल्लाको अवस्था भन्यौँ,’ उनले भने, ‘दोहोरो कुरा हुन पाएन । हामी कुरा राखेर पोखरा फर्कियौँ ।’ उनीहरूले देउवा सहित नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की लगायतसँग भेटेका थिए । ‘अहिलेको परिस्थिति र बाध्यता हो । तैपनि हामी मिलाउन खोजिरहेका छौँ भन्नुभएको थियो,’ बैठकमा सहभागी पूर्व मन्त्री यज्ञबहादुर थापा भन्छन्, ‘भएन भनेपनि कन्भिन्स भइदिनुस् भन्नुभयो । हामी कन्भिन्स नभई फर्कियौँ ।’
कांग्रेसले समाजवादीलाई मेयर नस्विकार्ने भन्दै सोमबार विज्ञप्ति निकालेको थियो भने पालिकाले आ-आफ्नै उम्मेदवार सिफारिस गरेका छन् । पोखराको मेयरका लागि कांग्रेसबाट १८ जना र उपमेयरमा १० जना सिफारिस भएका छन् । माओवादीले मेयर र उपमेयरमा ३÷३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस भएका छन् ।