×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त

काठमाडौँ । नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा अनुसार असाधारण परिस्थितिलाई सम्बोधन गर्न, राष्ट्रिय एकता प्रवर्द्धन गर्न र जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्ने उद्देश्यसहित कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने म्यान्डेटसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ।

जेन–जी आन्दोलनको चर्को दबाब र भदौ २३ गते खड्ग प्रसाद ओली सरकारको गोली लागेर १९ जनाको मृत्यु भएपछि २४ गते देशभर उग्र प्रदर्शन, आगजनी र तोडफोड भएको थियो। त्यसलगत्तै ओलीले राजीनामा दिएपछि दलहरूबीचको सहमतिको आधारमा संसद् विघटन गरी कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको हो। यससँगै नेपालमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन्।

वि. सं. २००९ जेठ २५ गते विराटनगरमा जन्मिएकी कार्कीले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी हुन्। उनले प्राध्यापनदेखि वकालत, वरिष्ठ अधिवक्ता हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्मको यात्रा तय गरेकी थिइन्। २०७३ सालमा प्रधानन्यायाधीश बनेकी उनले आफ्नो ११ महिनाको कार्यकालमा लोकमानसिंह कार्कीमाथिको फैसला र आईजीपी नियुक्ति विवादलगायत कारण महाअभियोगसमेत खेपिन्।

प्रधानन्यायाधीश हुँदा उनले भ्रष्टाचार मुद्दामा कडाइ गरेको भन्दै प्रशंसा पाएकी थिइन्। अवकाशपछि पनि उनले कुशासन र भ्रष्टाचारविरुद्ध मुखर भएर आवाज उठाइरहेकी थिइन्।

अब भने असामान्य राजनीतिक परिस्थितिबाट पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनी मुलुकको बागडोर सम्हाल्न आएकी छिन्। जेन–जी आन्दोलनले तोडेको पुराना दलहरूको सिण्डिकेट र ओली नेतृत्वको सरकार पतनपछि मुलुक नयाँ राजनीतिक यात्रामा उत्रिएको छ। कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गतेसम्म निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको छ।

प्रतिकृया दिनुहोस्