काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालसँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका छन् । भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
अमेरिकी सैन्य अधिकारी फ्लिनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल गरेका र राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा पनि गरेका नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
बिहीबार चार दिने नेपाल भ्रमणमा आएका फ्लिनलाई सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने छ। गार्डअफ अनरपछि प्रधानसेनापतिको कार्यालय जानेछन्। त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिनेछ। त्यसलगत्तै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ।