×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

सेयर बजारमा फेरि गिरावट

सेयर बजारमा फेरि गिरावट

 

काठमाडौँ – सोमबार ठूलो अंकको रिकभरी भएको सेयर बजारमा फेरि गिरावट आएको छ । १७ दिनसम्म लगातार ओरालो लागेर सोमबार एकैदिन १६१ अंकको फराकिलो अन्तरले नेप्से परिसूचक बढेको थियो । तर यो रिकभरी टिक्न सकेन । मंगलबार ४४.१८ अंकले नेप्से खस्किएको छ । १.४८ प्रतिशतले झरेर नेप्से २९३६.६० बिन्दुमा पुगेको हो । कतिपयले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमामा गरिएको फेरबदललाई नेप्सेमा देखिएको उतारचढावसँग जोडेर हेरेका छन् ।
आइतबार १०८ अंकले बजार ओरालो लागेपछि केही लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । ती आन्दोलकर्ताहरूको मागप्रति अर्थमन्त्री जनार्दन शर्माले समेत चासो राख्दै राष्ट्र बैंकका गभर्नरलाई टेलिफोन नै गरेर समस्या समाधान गर्न अर्‍हाएको खबर मन्त्रीकै सचिवालयले बाहिर ल्यायो । जसकारण नेप्सेमा सुधार आउन थालेको टिप्पणी केही विश्लेषकहरूले गरेका थिए । तर यसरी रिकभरी भएको सेयर बजार मंगलबारसम्म टिक्न भने सकेन ।

लगानीको क्षेत्रमा एउटा शब्दावली छ - डेड क्याट बाउन्स । भनिन्छ, उचाइबाट खसेको मृत बिरालो भुइमा झरेपछि जसरी उफ्रिन्छ, त्यसैगरी सेयर बजारमा लगातार ओरालो लागेको परिसूचकको ग्राफ निश्चित समयका लागि उकालो लाग्छ ।तर यसरी उकालो लागेको ग्राफ छोटो समयमा नै झर्छ, जसरी त्यो मृत बिरालो फेरि भुइमा खस्छ । तर सेयर बजारमा ठूला विद्वानहरूले पनि डेड क्याट बाउन्सलाई ठ्याक्कै अनुमान लगाउन सकेका छैनन् । नेपाली सेयर बजारमा देखिएको तिव्र उतारचढावले बजार अझै ओरालो लाग्ने विश्लेषकहरूको अनुमान छ । यस्तो उतारचढावमा लगानी गर्नु जोखिमयुक्त हुने समेत भनिएको छ ।कारोबारमा आएकामध्ये दुई समूहबाहेक सबै समूह कमजोर छन् । माइक्रोफाइनान्स, निर्जीवन बीमा र होटल एन्ड टूरिजम्‌ समूहमा दुई प्रतिशतभन्दा ठूलो गिरावट आएको छ ।
सेयर बजार क्रमश: ओरालो लागिरहेको समयमा सानिमा लाइफ इन्स्योरेन्समा भने ठूलो वृद्धि भएर सर्किट ब्रेकर नै लागेको छ । परिसूचक घटेसँगै नेप्से कारोबारमा समेत मन्दी देखा पर्न थालेको छ । सात अर्ब ४९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार उच्च छ ।  

प्रतिकृया दिनुहोस्