काठमाडौं- सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा पर्सि आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लाहरू – काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त दिन बिदा लागू हुनेछ।
मन्त्रालयले आज शुक्रबार एक सूचना प्रकाशित गरी आइतबार मनाइने ऐतिहासिक रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि सार्वजनिक बिदा दिइएको स्पष्ट पारेको छ।
हिजो बिहीबार रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको थियो। रथ जावलाखेल पुगेसँगै पर्सि आइतबार परम्पराअनुसार भोटो जात्रा आयोजना हुनेछ। भोटो जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक खटमा राखेर बुङमतीतर्फ लगिनेछ भने मीननाथलाई पनि रथमा राखेर टङ्गल पुर्याइनेछ।
यसै अनुष्ठानसँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा विधिवत् रूपमा समापन हुनेछ। वर्षा र सहकालका देवताका रूपमा आस्था राख्दै पूजा गरिने रातो मच्छिन्द्रनाथको जात्रालाई नेपालमा मनाइने जात्राहरूमध्ये सबैभन्दा लामो जात्रा मानिन्छ।