काठमाडौं- ऊर्जा, जल स्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी छन् । गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी मन्त्री भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताइन् ।
बिहीबार ललितपुर क्षेत्र नं. ३ अन्तर्गत हरिसिद्धिमा घरदैलोमा उनले विगतमा आफूले सुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको बताइन् । उनले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीन वटा नै तहको सरकार र निजी क्षेत्र समेतसँग सहकार्य गरेर काम गर्ने बताइन् ।
उनले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्न सक्ने विश्वास पनि व्यक्त गर्दै ललितपुर क्षेत्र नं. ३ लाई नमुना क्षेत्रको रूपमा अगाडी बढाउने बताइन्। उनले भनिन्, ‘धेरै काम मैले आफ्नो कार्यक्षेत्रमा गरेको छु । केही थालेका काम पूरा गर्नु छ । केही नयाँ काम थालनी गर्नु छ । मुख्य गरेर आर्थिक विकास अब मेरो प्रथम एजेण्डा हो । त्यसैले म पाँच वर्ष त्यसमा लाग्दा मैले सक्छु । मलाई असाध्यै विश्वास छ, मैले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्न सक्छु । तीनै तहको सरकारको सहकार्य र समन्वयबाट । सार्वजनिक, निजी क्षेत्रको समेत सहकार्यबाट हामी एउटा परिणाम निकाल्न सक्ने नमुना क्षेत्रको रूपमा अगाडी बढाउने छौँ ।’
उनले ललितपुर क्षेत्र नं. ३ बाट आफूले जित्ने माहौल बनेको बताइन् । आफूले दुई कार्यकाल गरेका कामहरू हेरेर जनताले मतदान गर्ने भन्दै मतदाताहरू पनि आफूप्रति सकारात्मक भएको बताइन् ।
‘माहौल सकारात्मक छ । यो अन्तिम घरदैलो हो । आज साँझ खोकनामा एउटा सभा गरेर प्रचार कार्यको समापन हुन्छ । २२ वडा जाँदा जनताको सकारात्मक रेस्पोन्स छ । मैले दुई कार्यकाल गरेका काम पनि जनताले हेर्नुभएको छ । अहिले मैले केही काम थालेका, केही नयाँ काम सम्पन्न गर्नुपर्ने छ । यो घोषणा मैले जनताको बीचमा राखेको छु । उहाँहरू सकारात्मक हुनुहुन्छ । जित्ने नै माहौल छ । हामी गठबन्धनमा छौँ,’ उनले भनिन्, ‘हाम्रो गठबन्धनको स्थानीय निर्वाचनको मत मात्रै गणना गर्दा पनि हामी धेरै नै सजिलो गरी जित्न सक्छौँ भन्ने कुरा तथ्याङ्कले पनि देखाउँछ । अहिले प्रचारप्रसार, घरदैलो, हाम्रो गठबन्धनका पार्टीहरू, नेताहरूको खटाइले अझ सहज हुनेछ ।’
मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडी रहेको उल्लेख गर्दै प्रतिनिधि सभाको निर्वाचन पनि सजिलोसँग जित्ने दाबी गरिन् ।