×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधान मन्त्री देउवा दिल्लीमा : मोदीसँग द्विपक्षीय वार्ता आज

प्रधान मन्त्री देउवा दिल्लीमा : मोदीसँग द्विपक्षीय वार्ता आज

काठमाडाैँ- प्रधान मन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली आएका उनको ३३ सदस्यीय प्रतिनिधिमण्डलमा चार मन्त्री र आठ सचिव पनि छन् । यसबाहेक सातजना सुरक्षाकर्मी र ११ सदस्यीय व्यापारिक समूह पनि प्रधानमन्त्रीसँगै दिल्ली पुगेका हुन् । 

भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेलगत्तै प्रधान मन्त्री देउवालाई आइसिटी मौर्य होटेलमा विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । प्रधान मन्त्री देउवा र मोदीबीच शनिबार हुने दुई चरणको भेटवार्ताका एजेन्डा र नेपाल-भारत सम्बन्धबारे विदेशमन्त्री जयशंकरले ब्रिफिङ गरेका छन् । उनले प्रधान मन्त्री देउवासँग करिब आधा घन्टा भेटेका थिए ।

भेटमा सहभागी एक अधिकारीका अनुसार देउवा नेतृत्वको सरकारसँग भारतले निकट भएर काम गर्न चाहेको जयशंकरको भनाइ थियो । देउवाको नेतृत्वमा नेपालमा निर्वाचन हुने र आर्थिक विकास एवं समृद्धि हासिल हुने विश्वास पनि जयशंकरले व्यक्त गरेका थिए । भेटवार्तापछि नेपाली भाषामा ट्विट गर्दै जयशंकरले भनेका छन्, ‘यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु ।’

प्रधान मन्त्री देउवा र समकक्षी मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शनिबार दुई चरणको वार्ता हुँदै छ । हैदराबाद हाउसको नीलगिरी कक्षमा सवा ११ बजेदेखि पौने १२ बजेसम्म देउवा र मोदीबीच सानो समूहमा वार्ता हुने छ । त्यसपछि पौने १२ बजेदेखि सवा १२ बजेसम्म उच्चस्तरीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यसूची छ । वार्तापछि दुवै प्रधान मन्त्रीले चार परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

आइतबार प्रधानमन्त्री देउवा बिहान बनारस जाने कार्यक्रम छ  । उनले कासी विश्वनाथ मन्दिर, साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर र कालभैरव मन्दिर दर्शन गर्ने कार्यक्रम छ । प्रधान मन्त्री देउवाले ललिताघाटस्थित वृद्धाश्रमको शिलान्यास गर्नेछन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्रीलाई स्वागत गर्ने र उनको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । आइतबार उत्तर प्रदेशबाट दिल्ली फर्केपछि प्रधान मन्त्री देउवा साँझ स्वदेश फिर्ता हुनेछन् । –नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्