काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश सांसद तथा पूर्वराज्यमन्त्री सरोज कुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। उनलाई काठमाडौँको अनामनगरस्थित एक स्थानबाट नियन्त्रणमा लिइएको हो।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा सिंहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। यसअघि गत जेठ १२ गते अख्तियारको टोलीले महोत्तरीस्थित उनको घरमा छापा मारेको थियो। सोही क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पनि पक्राउ गरिएको थियो।
घरमा गरिएको खानतलासीका क्रममा अनुसन्धान टोलीले विभिन्न योजनासँग सम्बन्धित कागजात र उनको मोबाइल फोन बरामद गरी डिजिटल फरेन्सिक जाँचका लागि पठाएको थियो। सोही अनुसन्धानलाई अगाडि बढाउने क्रममा सांसद सिंहलाई पक्राउ गरिएको हो।
सिंह महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए र उनी मधेश प्रदेश सरकारमा पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत भइसकेका छन्।