खगेन्द्र संग्राैला । पुरस्कारकै नाम सम्मान छ । पुरस्कारको नाममा प्रशंसा छ । प्रशंसामा धैर ठूलो शक्ति हुन्छ । प्रशंसाले तपाईंलाई आफ्नो कर्मको अर्थ बोध गराउँछ । तपाईंलाई आफ्नो क्षेत्रमा थप क्रियाशील बन्न, सिर्जनशील बन्न, समर्पित बन्न प्रेरित गर्छ । प्रशंसाले तपाईंको आत्मबल बढाउँछ ।
मेरो प्रशंसामा आयोजित यो कार्यक्रममा प्रशंसा सुनिरहँदा मैले दुइटा पात्रलाई सम्झिरहेँ – खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रशंसा कस्तो हुन्छ भन्नेको विराट चित्र खड्गप्रसाद शर्मा ओली हो । श्रीमान् खड्गप्रसाद शर्मा ओलीलाई अहिलेको अवस्थामा अहंकारी, अराजक, असहिष्णु, सारा विधि व्यवस्थामाथि तोडफोड गर्ने पात्रका रूपमा स्थापित गर्नका निम्ति मौसमी राष्ट्रवादको प्रशंसाको भूमिका छ ।
मौसमी राष्ट्रवादीहरूले भन्दाखेरि एकातिर राष्ट्रवाद, व्यवहारमा विखण्डनकारी राष्ट्रवादलाई अघि लगाएर खड्गप्रसादको वरिपरि प्रशंसकहरू यसरी झुमे, परिणाम के भयो भने ती सारा प्रशंसकका बीचमा त्यो मण्डपबाट एउटा करिबन हिटलर, करिबन गोयबल्स, करिबन भष्मासुर जन्मियो । त्यसको पीडा हामीले अहिले भोगिरहेका छौँ । त्यसैले मेरो प्रशंसा भइरहँदा के डर थियो भने कमसेकम म त्यस्तोचाहिँ नबनौँ ।
पुष्पकमल दाहाल नेपालको विराट जनयुद्धको नायक । जनयुद्धको प्रक्रियाको बीचमा ‘प्रचण्डपथ’ भन्ने एउटा मण्डपको निर्माण गरियो । त्यो मण्डप वरिपरि माओवादी पंक्तिका सबै जत्था जम्मा भए । तिनले प्रचण्डको यसरी तारिफ गरे कि प्रचण्डलाई त्यो तारिफको मण्डपमाथि सवार हुँदा के लाग्यो भने संसारको सबैभन्दा बुद्धिमान मै हुँ, सबैभन्दा शक्तिशाली मै हुँ, सबैभन्दा दूरदर्शी मै हुँ । त्यो सम्पूर्ण अनुभूतिको सम्प्रेषणले एउटा यस्ता पात्र जन्मायो, जो अराजक भएर निस्कियो । जसले कसैलाई गनेन्, जसले कसैलाई टेरेन ।
जो विराट जनयुद्धको नायक थियो, कालान्तरमा जनयुद्धका अभिष्टहरू, त्यसका एजेण्डा जनयुद्धको सबैभन्दा ठूलो विरोधीको पाउमा लगेर सिद्धान्त, आदर्श, एजेण्डा समर्पण ग¥यो । त्यसैले तपाईंहरूको प्रशंसा सुनिरहँदा म धेरै आनन्दित भइनँ ।
तथापि, प्रशंसा राम्रो कुरा हो । कसैले सानो वा ठूलो सत्कर्म गरेको छ भने त्यो सत्कर्मको सराहना गर्नु र त्यसको सम्मान गर्नु, त्यो पात्रलाई गौरवान्वित बनाउने समाजको कृतज्ञताको घोतक हो । प्रत्येक कृतज्ञ समाजले सत्कर्म गर्नेको प्रशंसा गर्छ । तिनलाई पुरस्कृत गर्छ । शालिक बनाउँछ । सयौँ, हजारौँ वर्षपछि पनि त्यसलाई सम्झिरहने बनाउँछ ।
एक समय जब पहिचान भन्ने संज्ञाले व्यक्त गर्ने अभिष्ट र लक्ष्यको सम्मान गर्थ्यो । त्यसको इज्जत थियो । अहिले त्यो इज्जत छैन । पहिलो संविधानसभाको प्रक्रियाभरि पहिचान भन्ने संज्ञाको ठूलो महत्त्व थियो । त्यसको पृष्ठभूमि, त्यो संज्ञाले बोक्ने उत्पीडनका अनुभूति, त्यो संज्ञाभित्र रहेका मुक्तिका चाहना, त्यो चाहना व्यक्त गर्नका निम्ति संगठित रूपमा सडकमा व्यक्त भएका आक्रोश सबैको महत्त्व थियो ।
माओवादीको विराट जनयुद्धबाट यो समाजको सीमान्त कुनाका, सम्पत्ति नभएका, जात नभएका, प्रतिष्ठा नभएका, कही पहुँच नभएका धेरै मान्छेहरू संविधासभामा आएका थिए । ती मान्छेहरू जो गुमनाम थिए । अनाम थिए । पहिचानविहीन थिए । जसलाई समाजको सत्ता, सत्य र शक्तिले कहिल्यै पनि चिनेको थिएन । ती सबै मान्छेहरू पहिचानको मुद्दा लिएर आएका थिए ।
पहिलो संविधासभा जब विघटन भयो प्रतिगमन सुरु भयो । यद्यपि, अग्रगमन र प्रतिगमन कुनै पनि समाजको जीवन्त प्रक्रियामा, आन्दोलनको प्रक्रियामा निरन्तर रूपमा समानान्तर चलिरहन्छन् । प्रश्न कुन समयमा को बलियो हुन्छ भन्ने मात्र हो ।
एक समय थियो जब प्रदेशको रेखांकन गर्दा दुईवटा संज्ञालाई ध्यानमा राख्नुपर्छ भन्ने थियो । एउटा पहिचान थियो । अर्को सामर्थ्य थियो ।
पहिचान ऐतिहासिक रूपमा दबाइएका जातिहरू, संस्कृति मासिएका, भूमि खोसिएका, भाषा दबिएका, सारा सभ्यता खलबल्याइएका जातिहरूलाई ऐतिहासिक रूपमा सम्मान गर्दै तिनलाई विकासको प्रतिष्पर्धामा अवसर दिनुपर्छ । भाषामा अवसर दिनुपर्छ । संस्कृतिमा अवसर दिनुपर्छ । र, अतिरिक्त व्यवस्थासाथ जीवनको प्रतिस्पर्धामा त्यो जाति, समुदायलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा पहिचानले इंगित गरेको थियो ।
अहिले पहिचान भन्नेबित्तिकै विखण्डन भन्ने बुझिन्छ । राजनीतिमा जब पश्चगमन सुरु भयो सबै संज्ञाहरू विकृत तुल्याइयो । मानिसहरूको आकांक्षा व्यक्त गर्ने जे जति संज्ञाहरू थिए तिनलाई विकृत तुल्याइयो । ती सज्ञांहरूको उच्चारण गर्दा लाज लाग्ने अवस्था बनाइयो ।
पहिचानलाई सामाजिक सद्भाव भत्काउने, राम्रोसँग मिलिरहेको समाजमा कलह पैदा गर्ने, आपसमा द्वेष पैदा गर्ने, विखण्डन गर्ने जातिवाद ल्याउने रूपमा बुझियो । अहिले यो समाजका शिक्षित, धनाड्य, सत्तामा वर्चस्व कायम गरेका प्रायः अधिकांशको यस्तै धारणा छ ।
पहिचान विखण्डको कारण हो । पहिचान सामाजिक विद्वेषको कारण हो । पहिचान अत्यन्त सामञ्जस्यताका साथ शान्तिपूर्ण ढंगले बसिरहेको समाजलाई विथोल्ने कुनियत हो भन्ने रूपमा बुझिएर पहिचानको प्रश्न निस्तेज पारिएको छ ।
पश्चगमनको कारणले अग्रगमनको नायक स्वयं खलनायकमा रूपान्तरण भएकाले धेरै मुद्दाहरू जस्तै पहिचानको मुद्दा पनि प्रभावित भएको छ । तर, यो सम्पूर्ण ऐतिहासिक प्रक्रियाबाट स्थापित सत्य के हो भने यो समाजका धेरै अल्पसंख्यक जातिहरू, राज्यको केन्द्रबाट सीमान्तमा परेका छन् । राज्यबाट बाहिर फालिएका छन् । सत्तामा तिनको पहुँच छैन । शक्तिमा तिनको पहुँच छैन । साधन स्रोतमा तिनको पहुँच छैन । अवसरमा तिनको पहुँच छैन । विपन्न छन्, सीमान्त कुनामा छन् । निमुखा छन् । तिनको आवाज केन्द्रमा आइपुग्दैन् भन्ने कुरा स्थापित भएको छ ।
पहिचान नेपाली समाजको कठोर सत्य हो । पहिचान मेटिएकाहरूको पहिचान जबसम्म स्थापित हुँदैन तबसम्म नेपाली समाज न्यायको जगमा, समानताको जगमा उभिँदैन् । समाजमा असमानता व्याप्त भइरहन्छ, अन्याय व्याप्त भइरहन्छ भने विद्रोह पनि भइरहन्छ ।
त्यसैले पहिचानको मुद्दा जातिवादी होइन । पहिचानको मुद्दालाई जसले जातिवादी भन्छ त्यो आफैँ जातिवादी हुन्छ । ती जातिवादहरू जो यो राज्यको विजारोपण भएदेखि नै सत्तामा जसको वर्चस्व रहेको छ । धेरै मानिसहरूको अधिकारलाई आफ्नो मुठीमा लिएर राज्यमा सोख गरेका छन् । मोज गरेका छन् । धेरै मानिसको अपमान गरेका छन् ।
यति भनेपछि हामीले आफूतिर पनि फर्किनुपर्छ । पहिचानको आन्दोलनमा हामी आफैँले पनि कही कतै केही गल्ती गरेजस्तो लाग्छ । पहिचानको मुद्दाको ऐतिहासिक सन्दर्भ के हो, पहिचानको मुद्दाको सांस्कृतिक सन्दर्भ के हो, पहिचानको मुद्दा नेपाली समाजका जाति–जातिहरूका सम्बन्धमा के हो, अधिकारको बीचमा के हो भनेर त्यसलाई विशिष्ट रूपमा स्पष्ट रूपले परिभाषित गर्न सकिएन कि जस्तो लाग्छ मलाई ।
कतिपय सन्दर्भमा पहिचानका नाममा उग्रता व्यक्त भयो । पहिचान भनेर कुनै जातिका विरुद्धमा, जातिविरोधी आवाज उठाउने कुरा पनि मुखर भयो । तर, के पनि सत्य हो भने उत्पीडितहरूले काव्यात्मक भाषा बोल्दैनन् । उत्पीडनमा आक्रोश हुन्छ । उत्पीडनमा पीडा हुन्छ । उत्पीडनमा परेकाहरू जब आफ्ना पीडा व्यक्त गर्छन् तब सभ्य, सुसंस्कृत र अघाएको बाहुनको जस्तो भाषामा, काव्यात्मक भाषामा, मीठो भाषामा बोल्दैनन् ।
उत्पीडनको आक्रोशमा आगो हुन्छ । आगो प्रिय हुँदैन् । जसप्रति लक्षित हुन्छ उसलाई आगोले पोल्छ । पहिचानको मुद्दालाई पुनर्स्थापित गर्नका निम्ति त्यसमा आवेग भर्न, त्यसमा आगो भर्न, विवेक भर्न, पहिचान गुमाएका समग्र जाति समुदायको बृहत्तर ऐक्यबद्धता निर्माण गर्नका निम्ति बृहत् पहलकदमी आवश्यक छ ।
म ७५ वर्षको बुढो भएँ । यसको विजय देख्न म आफैँ त बाँचिरहेको नुहुँला । तर, जहाँ अन्याय छ, त्यहाँ विद्रोह छ । विद्रोह दबिनु भनेको विद्रोह प्रभावित हुनु होइन । विद्रोह कहिले देखिन्छ, कहिले सुषुप्त हुन्छ ।
विभिन्न जातिले पहिचानका नाममा केही सुविधा पाएका छन् । राष्ट्रिय बिदाका रूपमा सहुलियत प्राप्त गरेका छन् । साकेला, ल्होसार आदि इत्यादी । ती उत्सवहरू हेर्दा पहिचानको मुद्दाले विजयप्राप्त गरिसक्यो, अब आनन्द गर्न मात्र बाँकी छ । विजय उत्सव मनाउन मात्र बाँकी छ जस्तो लाग्छ ।
म पहिले पहिले टुँडीखेलमा जान्थेँ । पहिचानबारे गम्भीर विमर्ष भएको त्यहाँ कहिल्यै सुनिनँ । पहिचानका बारेमा प्रतिवाद गरिएको संगठित आवाज, आक्रोश व्यक्त गरिएको कहिल्यै पनि सुनिनँ ।
च्याब्रुङ्ग बजाएको छ, धनुकाँण हान्या छ, नक्कली सुनका गहना लगाएको छ । मीठा– मीठा पाक परिकार र व्यञ्जनका कुरा गरिएको छ । खाइएको छ । हाँसिएको छ । मानै सबै कुरा भइसक्यो अब केही बाँकी छैन ।
त्यसले के देखाउँछ भने पहिचानको मुद्दा र त्यसको संघर्षको प्रक्रियामा हाम्रा तर्फबाट पनि कतै बरालिएको छ । यसलाई लक्ष्यको केन्द्रमा ल्याउनु आवश्यक छ । यसको वरिपरि संगठित हुनु आवश्यक छ । आवेगलाई संगठित गर्न आवश्यक छ, विवेकलाई संगठित गर्न आवश्यक छ । उत्पीडितहरूका बीचमा बृहत्तर ऐक्यबद्धताको पनि आवश्यकता छ । यो मुद्दा स्थापित भएको छ, यो नेपालको सामाजिक यथार्थ हो । कठोर वास्तविकता हो । अब लड्न बाँकी छ । जित्न बाँकी छ ।
म ७५ वर्षको बुढो भएँ । यसको विजय देख्न म आफैँ त बाँचिरहेको नुहुँला । तर, जहाँ अन्याय छ, त्यहाँ विद्रोह छ । विद्रोह दबिनु भनेको विद्रोह प्रभावित हुनु होइन । विद्रोह कहिले देखिन्छ, कहिले सुषुप्त हुन्छ ।
पहिचानको मुद्दाले हारेको छैन । निस्तेज भएको छैन । केही समयलाई सुषुप्त भएको छ । विछिन्न, वितिर्ण जस्तो भएको छ । नेपाली समाजलाई सुन्दर, मानवीय र सहअस्तित्वमा आधारित बनाउने हो भने पहिचानजस्ता नेपाली समाजका अनेक मुद्दालाई सही ढंगले विस्तार नगरिकन नेपाली समाज न्यायपूर्ण हुन सक्दैन ।
वैरागी (काइँला) दाइले भन्नुभयो पहिचानको कुरा भनेको सांस्कृतिक विषय हो । पहिचानको प्रकृतिको दृष्टिबाट त्यो कुरा सही नै हो । तर, पहिचानको मुद्दालाई वास्तविक रूपले विजयको टुंगोसम्म पु¥याउने माध्यम भनेको फेरि पनि राजनीति नै हो । राजनीतिक लडाइँ नलडीकन सांस्कृतिक कुरासँग सम्बद्ध, भाषासँग सम्बद्ध, जाति विशेषको सभ्यता र संस्कृतिसँग सम्बद्ध जे जति मुद्दाहरू छन् ती स्थापित हुँदैनन् ।
त्यसैले विषयको प्रकृतिको दृष्टिबाट यो सांस्कृतिक मुद्दा भएकाले यसलाई अन्तिम टुंगोमा पु¥याउन र विजयपाप्त गर्नका निम्ति राजनीतिक लडाइँ नै लड्नुपर्छ । हामीले त्यो काम गर्न बाँकी छ भन्ने लाग्छ मलाई ।
मैले त्यस्तो ठूलो केही गरेको होइन । म यो देशको भाग्यमानी मानिस हुँ । तपाईंहरू जो पहिचानका निम्ति चिच्याइरहेका, सीमान्तकृत मानिसका अगाडि म धेरै भाग्यमानी मान्छे हुँ । मेरो बाउबाजेले नारायणहिटी दरबार र सिंहदरबारमा हुकुम त चलाएनन्, तर भाषाको कारणले, धर्मको कारणले, वर्णका कारणले, नाकको कारणले म त्यो संरचनाभित्र परेको अनुहार हुँ । त्यसैले संरचनागत लाभांश प्राप्त गरेँ ।
यदि मलाई संरचनागत लाभांश प्राप्त नभएको भए त्यो दूरको पाँचथरबाट काठमाडौं आएर पढ्ने अवसर मलाई कसरी हुन्थ्यो होला ? त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी पढ्ने अवसर कसरी हुन्थ्यो होला ? कालीदासदेखि शेक्सपियरसम्म पढ्ने अवसर कसरी हुन्थ्यो होला ? एरिस्टोटलदेखि कार्लमार्क्ससम्मलाई चिन्ने अवसर कसरी हुन्थ्यो होला ?
ती सबै अवसरको आधारभूत कुरा भनेको संरचनागत लाभांश हो । मेरा आफ्ना केही गुण थिए होलान्, मैले आफ्नो क्षमताको विकास गर्ने केही प्रयत्न गरेँ हुँला । ती सबै तपसिलका कुरा हुन्, मुख्य कुरा भनेको संरचनागत लाभांश नै हो ।
मैले उत्पीडित जातिहरूको अधिकारको पक्षमा, सीमान्तकृतको अधिकारको पक्षमा जे जति लेखेँ, बोलेँ, आक्रोश व्यक्त गरेँ त्यो मैले कसैप्रति गरेको कृपा होइन । मैले स्वमंलाई मानवीकरण गर्ने चेष्टा गरेको हुँ । जसले त्यो लाभांश प्राप्त गरेको छ, त्यो लाभांशसँग अमानवीकरवणको अंश पनि उसमा आएको छ ।
राज्यले गर्ने हिंसाको ऊ जिम्मेवार छ । हिंसाको मात्रा घटी वा बढी होला त्यसका निम्ति ऊ जिम्मेवार छ । समाजमा व्याप्त विभेदका निम्ति, अन्यायका निम्ति, उत्पीडनका निम्ति, समाजमा बगिरहेको आँशुका निम्ति, रगतका निम्ति धेरै अथवा थोरै ऊ जिम्मेवार छ । म पनि जिम्मेवार छुँ । मैले उत्पीडितका पक्षमा लेखेर, बोलेर त्यो जिम्मेवारी पूरा गरेको मात्र हुँ । मैले धेरै केही पनि गरेको होइन । मैले गरेको त तिल बराबर थियो, पुरस्कार र सम्मान त हात्ती बराबर दिनुभयो ।
हरेक पुरस्कार र सम्मानको पछाडि अपेक्षाहरू हुन्छन् । जाति समुदायका निम्ति यसले बोलेर अथवा लेखेर, विमर्श गरेको हुनाले यसको इज्जत राखौँ भन्ने कुरा हो । त्यसको नेपथ्यमा, अप्रकट रूपमा हाम्रो निम्ति यसले यस्तो गरिरहे हुन्थ्यो भन्ने आशा र अपेक्षा रहन्छ । म त बूढो मान्छे अब कति पो गर्न सकौँला भन्ने छ । एकातिर प्रकृतिको कोरोना अर्कोतिर बालुवाटारको कोरोना छ । बोल्न अप्ठेरो छ, चल्न अप्ठेरो छ ।
तपाईंहरूका बीचमा उभिएपछि मलाई के लाग्यो भने नेपाली समाज राम्रो हुन्छ । नेपालीहरू समाज अधिकारका निम्ति लड्ने छन् । नेपाली समाज, समाजलाई न्यायीक लोकतन्त्रको सम्पूर्णता र समताको जगमा उभ्याउनका निम्ति लड्नेछ र विजयप्राप्त गर्नेछ ।
(संग्रौला लेखक तथा साहित्यकार हुनुहुन्छ । काठमाडौंमा हालै आयोजित पहिचान सम्मान –०७७ बाट सम्मानित भएपछि उहाँले व्यक्त गर्नुभएका विचार)