काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ५ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारको चयन गर्ने बताइएको छ ।
कांग्रेससँगको गठबन्धन तोडेर नयाँ बनेको गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउने सहमति अनुसार माओवादीले उम्मेदवार छान्न लागेको हो ।
माओवादीमा राष्ट्रियसभा अध्यक्षका लागि हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल, नारायण दाहाल र झक्कुप्रसाद सुवेदी आकांक्षी रहेका छन् । तर पार्टी अध्यक्ष प्रचण्डको रोजाइमा दाहाल अगाडि छन् ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने केही खुलाएको छैन । नयाँ सत्ता समीकरण बन्नु अघि नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बन्ने चर्चा रहेको थियो । तर समीकरण परिवर्तन भएपछि कांग्रेसले कुनै निर्णय गरेको छैन ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता र मंगलबार मतदानको तयारी रहेको छ ।