×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सम्भव नेपालले आरुघाटमा २० घर बनाइदिने

सम्भव नेपालले आरुघाटमा २० घर बनाइदिने

पोखरा- बाढी-पहिरो र भूकम्पपछि जोखिम मोलेर दैनिकी बिताउँदै आएका गोरखा आरुघाटका विपन्न परिवारलाई सम्भव नेपाल नामक संस्थाले घर बनाइदिने भएको छ । संस्थाले आरुघाटका २० वटा विपन्न परिवारलाई घर बनाइदिन लागेको हो । शुक्रबार गाउँपालिका र सम्भव नेपालबीच घर निर्माणको सम्झौता भएको छ । सोही अवसरमा लाभग्राहीसँग समेत संस्थाले सम्झौता गरेको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए ।

‘परिवारको छनोट गाउँपालिकाले गरेको हो । हामीले भूकम्प प्रतिरोधी घर बनाउने सम्झौता गरेका छौँ,’ उनले भने, ‘घर स्तरीय हुन्छ । सबै एउटै मोडलका हुन्छन् ।’ उनका अनुसार एउटा घर बनाउन १४ लाख २० हजार रुपैयाँ लाग्नेछ । सोही कार्यक्रममा पालिका अध्यक्ष पूर्ण दाहाल र संस्थाका अध्यक्ष खत्रीले संयुक्त रुपमा घर निर्माणको शिलान्याससमेत गरेका छन् ।

घर तीनवटा कोठा र शौचालयसहितको बन्नेछ । लामो समय शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएका खत्री नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन् । एक वर्षभित्र सबै घर तयार हुने उनको भनाइ छ । पालिका अध्यक्ष दाहालले कोटा थोरै भएकाले अति आवश्यक भएकालाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

प्रतिकृया दिनुहोस्