काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आएको बताएका छन्।
बुधबार राजधानीमा क्रान्तिकारी फोर्सको घोषणा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। शासकीय स्वरूप र निर्वाचन प्रणालीमा असहमति जनाउँदै माओवादीले संविधान निर्माणमा भूमिका निर्वाह गरेको भन्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली सच्याउनका निम्ति अर्को आन्दोलन आवश्यक भएको बताए।
‘शासकीय स्वरूप र निर्वाचन प्रणाली मात्रै होइन समाजवादी क्रान्तिका निम्ति जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्नुपर्नेछ,’ प्रचण्डले भने। यसका निम्ति क्रान्तिकारी फोर्सले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। जनवादी क्रान्तिको नेतृत्व आफूले गरेको भन्दै प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्वका निम्ति युवाहरू तयार हुनुपर्ने उनले बताए।