जुम्ला - बजारमा जुम्ली स्याउको माग बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ। जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने कार्य अघि बढेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदान दिने कार्यनीतिले स्याउ खेती विस्तार हुँदै गएको हो।
आर्थिक वर्ष २०७३/७४ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई स्याउ बगैँचा विस्तारका लागि बिरुवामा अनुदान, कृषि सामग्री अनुदान तथा क्षमता विकास कार्यक्रम गर्न थालेपछि स्याउ खेती विस्तारमा थप सहयोग पुगेको छ। यस अभियानले कृषि विकास कार्यालयलाई सघाउसमेत पुगेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्क अनुसार जुम्लामा ४२ हजार २५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ। जसमा उच्च घनत्वका बिरुवा पनि लगाउन थालिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीका अनुसार ३३५.७५ हेक्टर जमिनमा यस कार्यक्रम अन्तर्गत स्याउ खेती बढाइएको छ। यसै गरी ६५ हेक्टर जुम्लाको जमिनमा ओखर खेती विस्तार गरिएको छ। नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत गुठीचौर एग्रो फर्ममा मात्रै ४६ लाख ९९ हजार ४५० रुपियाँ अनुदान सहयोगसमेत भएको छ। शाहीका अनुसार २५ लाख बिरुवामा अनुदान तथा २१ लाख ९९ हजार रुपियाँ सिँचाइ र घेराबारमा अनुदान दिइएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ ।