काठमाडौँ- नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले आर्थिक संकटले ग्रस्त श्रीलंकामा आठौँ सबैभन्दा ठूलो बैंक खरिद गरेका छन् ।
यसभन्दा अगाडि उनले सन् २००१ मा इन्डियन होटल्स कर्पोरेसन लिमिटेड (आईएचसीएल)सँगको संयुक्त उपक्रम (जेभी) मा चर्चित ताज समुद्र कोलम्बोमा चौधरीले महत्वपूर्ण लगानी गरेका थिए ।
नेपालको चौधरी ग्रुपले सीजी क्यापिटल पार्टनर्सको माध्यमबाट युनियन बैंक (यूबीसी)मा ७०.८४ प्रतिशत सेयर खरिद गरेको हो । सिंगापुरमा एक निजी इक्विटी कम्पनी सीजी कर्प पनि यो खरिदमा सहभागी भएको बताइएको छ । यो नौ अर्ब १० करोड श्रीलंकाली रुपैयाँबराबरको लगानी हो ।
नेपाली अर्बपति विनोद चौधरीका अनुसार यो समय श्रीलंका कठिन समयबाट गुज्रिरहेको छ र आईएमएफको माध्यमबाट विदेशी लगानी जुटाउन संघर्ष गरिरहेको छ ।
‘ऋणका कारण पनि बैंक दबाबमा रहेको र यी सबै आर्थिक झट्काका बाबजुद हामीले श्रीलंकामा लगानी गर्ने फैसला गरेका हौँ’, उनलाई उद्धृत गर्दै बीडब्ल्युहिन्दीले भनेको छ, ‘हामीलाई थाहा छ यो कठिन हुनेवाला छ तर हामी श्रीलंकालाई भरोसा दिन चाहन्छौँ ।’
यही डिसेम्बरको पहिलो तारिखमा कोलम्बो स्टक एकसचेन्जमा यो लेनदेनको घोषणा भएको थियो । त्योसँगै बैंकको सेयर १३.३ प्रतिशतले बढेर ८.५० श्रीलंकाली रुपैयाँमा बन्द भएको थियो । यूबीसीमा अधिकांश सेयरको अधिग्रहणसँगै श्रीलंकामा आठौँ सबैभन्दा ठूलो सूचीकृत बैंक समूले श्रीलंकामा वित्तीय सेवा उद्योगमा आफ्नो पहिलो सुरुवात गरेको छ ।
सीजी नबिल बैंकको सबैभन्दा ठूलो सेयरधनी हो । चौधरीले यसअघि श्रीलंकाको हस्पिटालिटी क्षेत्रमा लगानी गरिसकेको छ । जसको अहिले छ देशमा ११ सम्पत्तिमा आईएचसीएलसँग साझेदारी रहेको छ ।
चौधरी सन् २०१३ बाट फोब्र्स म्यागजिनको अर्बपति सूचकांकमा समावेश भएका थिए । उनको श्रीलंकासँग लामो मित्रता छ । उनले जेटविंग होटल्स ग्रुप र सीलोन होटल्स कर्पोरेसनसँगको साझेदारीमा १२ अन्य सम्पत्तिमा पनि लगानी गरेका छन् । सीजी हस्पिटालिटी होल्डिंग्स, सीजी कर्प ग्लोबलको १२ देशमा १४१ भन्दा धेरै होटल र रिसोर्ट रहेका छन् । यो ग्रुपले सन् २०२५ सम्म दुई सयभन्दा धेरै होटल बनाउने आशा गरिएको छ ।
सीजी कर्प ग्लोबलको १४० वर्षे विरासतसँगै १२३ ब्रान्ड, १६० कम्पनी, १५ हजारभन्दा धेरै कर्मचारी र धेरै क्षेत्रमा ३२ देशमा व्यवसाय फैलिएको छ । भारतमा पनि सीजी हस्पिटालिटी दुई दशकयता उपस्थित छ । १९९० को दशकको मध्यतिर सीजीले भारतमा व्यवसाय विस्तार गरेको छ । भारतमा सात अलग स्थानमा उत्पादन उद्योग र राजस्थानमा मेगा फृुड पार्क रहेको छ ।