काठमाडौँ- सेयर बजार दोहोरो अङ्कले बढेको छ । बिहीबार दिनभर उतारचढाव देखिएको बजार १४.७१ अङ्क (०.७४ प्रतिशत) ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ । गत शुक्रबार दुई हजार अङ्कबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो ।
नेप्सेसँगै होटेल र निर्जीवन बिमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ ।
बिहीबार बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये एनआईसी एसिया बैङ्कको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ । यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ ।
बिहीबार लगानीकर्ताको आकर्षणमा सामूहिक लगानी कोषको इकाइ पर्दा धेरै मूल्य बढ्ने ५ वटाको सूचीमा सामूहिक लगानी कोषका हिकाइहरू परेका छन् । सूचीकृत कम्पनी मध्ये अपर तामाकोशीको सर्वाधिक ७.१४ प्रतिशतले सेयर मूल्य वृद्धि हुँदा रिभर्स फल्स पावर लिमिटेडको सेयर मूल्य ६.३९ प्रतिशतले बढेको छ ।
यता प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक ५.०१ प्रतिशतले गिरावट हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.३१ प्रतिशत र समिट लघुवित्तको सेयर मूल्य ३.०१ प्रतिशतले गिरावट भएको छ ।
१८२ कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ११ सूचीकृत कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।