काठमाडौं - त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो ।
विद्यार्थी संगठनहरुसंग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीले जानकारी दिए । हिउँदे बिदा‚ फागू पूर्णिमालगायत कारणले त्रिभुवन विश्वविद्यालयलको क्यालेन्डरमा रहेको व्यवस्थाभन्दा मिति पर धकेलिएको खेलकुद परिषद् प्रमुख अधिकारीले बताए ।
प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले पनि स्ववियु निर्वाचन गर्नका लागि निर्देशन दिइसकेका छन् । कार्यकारीले अनुमोदन गरेपछि चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ ।
त्रिवि शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ तर २०६५ चैतयता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो । स्ववियु नियमित नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।
त्रिविका पदाधिकारीले विद्यार्थी संगठन, राजनीतिक दल र सरकारको सहयोग रहे निर्वाचन सम्पन्न गर्न सकिने तर्क गर्दै आएका छन् । विद्यार्थी संगठनले भने त्रिविका पदाधिकारी र क्याम्पस प्रमुखको इच्छाशक्तिमा चुनाव हुने वा नहुने निर्भर रहने बताएका छन् ।
२०७४ र २०७६ मा स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगित हुन पुगेको थियो । त्यतिबेला राजनीतिक दल र ठूला विद्यार्थी संगठन तयार नहुँदा चुनाव अनिश्चित बनेको विश्वविद्यालय पदाधिकारीको आरोप छ । विद्यार्थी संगठनले भने निर्वाचन गराउन विश्वविद्यालयले नचाहेको बताउँदै आएका छन् ।
०७३ मा निर्वाचित स्ववियुको थपिएको म्याद पनि सकिइसकेको छ । स्ववियुको म्याद ६/६ महिना गरी दुई पटक थप गर्न सकिने नियममा उल्लेख छ । निर्वाचन हुन नसकेका क्याम्पसमा ०७४ मा निर्वाचन गर्ने त्रिविको प्रयास सफल हुन सकेन । कार्यकारी परिषद्ले पुनः ०७६ फागुन १४ मा चुनावको मिति घोषणा गरेको थियो तर फागुन ५ मा विशेष कारण देखाउँदै त्रिविले निर्वाचन स्थगित गरेको थियो । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक, १ हजार ४० सामुदायिक र निजी क्याम्पस छन् ।